शुक्रवार, चैत्र २३ २०८०
दमन राई
खोटाङ, २३ चैत । यूएईमा करारनामा अनुसारको सेवा सुविधा माग्दै आवाज उठाउने युवालाई उल्टै ‘माफी मागेको’ भिडियो बनाउन लगाइएको छ । कामदार करारनामा अनुसारको काम, तलव र सेवा सुविधा नपाएपछि आवाज उठाउँदै विभिन्न मिडियाको सम्पर्कमा पुगेका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई तथा दैलेखका मनबहादुर शाहीलाई उल्टै ‘आफ्नै गल्ती भएको’ उल्लेख गर्दै भिडियो बनाउन लगाएका हुन् ।
वैदेसिक रोजगारीका सिलसिलामा उनीहरु मेची इन्टरनेशनल ओभर्सिज प्रालि, काठमाडौंमार्फत क्लिनरको कामका लागि यूएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस नामको कम्पनीमा पुगेका थिए । तर यूएईमा रहेका नेपालका सञ्जय थापा र भारतका नियासले अरु कम्पनीमा काम खोजेर केही दिन काममा लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका थिए ।
नियमित काम नपाउने र कोठामा आफ्नै खाएर बस्नु पर्ने अवस्था देखेपछि नेपाली युवा आवाज उठाउँदै मिडियाको सम्पर्कमा पुगेका थिए । करारनामा अनुसारको सेवा सुविधा नपाउँदा उनीहरुसहित १९ नेपाली अलपत्र परेको खबर चैत १ गते सार्वजनिक भएको थियो ।
नेपाली युवा अलपत्र बनेको समाचार प्रकाशन भएपछि मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष राजकुमार चौधरी, थापा र नियासले ‘आफ्नै कमजोरी भएको’ भन्दै भिडियो रेकर्ड गरेर उपलव्ध गराउन दवाव दिँदैआएका थिए । ‘सेवासुविधा बारे आवाज उठाउनु आफ्नो कमजोरी भएको र यूएईको कानुन विपरित भएको’ बोलिएको भिडियो स्वयं चौधरीले कैंद गरेका छन् । चौधरीले रोजगारदाता कम्पनी मालिकलाई पठाइदिनुपर्ने भन्दै सो भिडियो रेडर्क गरेका हुन् ।
यूएईस्थित नेपाली दुतावासले बैदेसिक रोजगारीका सिलसिलामा युवालाई अलपत्र पार्ने मेची इन्टरनेशनल ओभर्सिज प्रालिलाई कारबाहीका लागि चैत ९ गते वैदेशिक रोजगार विभाग समक्ष सिफारिस गरेको थियो । सोही कारबाहीबाट बच्न र यूएईको कम्पनीसँगको सम्वन्ध नविगार्न चौधरीले मिलेमतोमा भिडियो बनाउन लगाएको पिडित पुवाको अनुमान छ ।
यस्तै, वैदेशिक रोजगार विभागले लिखित जवाफसहित उपस्थित हुन मेची इन्टरनेशनल ओभर्सिजलाई चैत ६ गते निर्देशन दिएको थियो । त्यसको भोलीपल्ट चैत ७ गते चौधरीले सम्झौता अनुसारको सेवा सुविधा उपलव्ध गराउने ग्यारेन्टीका लागि नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस्लाई पत्र पठाएका थिए ।
यसअघि पनि ‘मिडियाको सम्पर्कमा पुग्नमा मेरो संलग्नता छैन । हामीलाई खान, बस्न कुनै समस्या छैन । स्यालरी दिने पक्का भएको छ’ भन्ने उल्लेख भएको कागज तयार पारेर हस्ताक्षर गर्न लगाएका थिए । तर तीन युवाले भने करारनामा अनुसारको सेवासुविधाबाट बञ्चित गराएर अलपत्र पार्ने अनि उल्टै ‘कमजोरी’ भयो भनेर कागज गराउन खोजेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गर्दैआएका थिए । गत चैत ११ गतेदेखि काम र दाम विहिन बसिरहेका उनीहरु उद्धारको प्रतिक्षामा बसिरहेका छन् । काम छाडेदेखि नै ‘नेपाल फर्काउन’ आग्रह गरे पनि मेनपावरले बेवास्ता गरिरहेको छ ।
नेपाली युवा खाने बस्ने सुविधा सहित मासिक ११०० देखि १२०० तलव पाउनेगरी यूएई गएका थिए तर खाना सहित मासिक ९०० र आफ्नै खाना खानेलाई मासिक ११०० दिने भनेपछि उनीहरुले आवाज उठाएका थिए । उनीहरु एजेन्टलाई जनही १ लाख ९० हजारदेखि २ लाख २० हजारसम्म बुझाएर यूएई पुगेका थिए ।
अलपत्र युवाका अनुसार यूएईमा सम्झौता अनुसारको काम र दाम नपाए दुःख पाइरहेका कैयौं नेपाली छन् । तर उनीहरुको हकहितमा आवाज उठाइदिने कोही छैनन् ।