बिहिवार, चैत्र २२ २०८०
नेपाल वाइड
खोटाङ २२ चैत । खोटाङमा एसइईको परीक्षा हलमा चिट चोर्न/चोराउन मोबाईलको प्रयोग भइरहेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालास्थित जालपा मावि केन्द्रमा चिट चोराउन परीक्षा हलभित्रै मोबाईलको प्रयोग भएको भेटिएको हो ।
बिहिबार अर्थशास्त्र तथा ऐच्छिक गणितको परीक्षा भइरहेका बेला शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय खोटाङका निमित्त प्रमुख नन्दबहादुर बिक नेतृत्वको टोलीले अनुगमन निरिक्षणका क्रममा जालपा माबि परीक्षा केन्द्रको परीक्षा हलबाट चिट चोर्न प्रयोग भइरहेको तीन वटा मोबाईल जफत गरेको छ ।
परीक्षा हलबाट विद्यार्थीले प्रश्न–पत्रको तस्बीर खिचेर फेसबुक ग्रुपमा पठाउने र बाहिरबाट सम्वन्धित विद्यालयका प्रअ तथा शिक्षकले उत्तर लेखेर ग्रुपमै पठाइदिने गरेको पाइएको निमित्त प्रमुख बिकले बताए ।
परीक्षा हलमा मोबाईल लगेर प्रश्न–पत्र आउट गरेर चिट चोर्ने/चोराउने गरेको पूष्टि भएपछि निरिक्षक हरिप्रसाद भट्टराई र सुमना दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । यस्तै, मोबाईल प्रयोग गर्ने तीन विद्यार्थीको बिहिबारको परीक्षा रद्ध गरिएको निमित्त प्रमुख बिकले बताए ।
कालिका मावि खार्मी र सरस्वती माबि पाथेकाको विद्यार्थी सम्मिलित परिक्षा हलमध्ये एउटा कोठाबाट दुई वटा र एउटा कोठाबाट एउटा मोबाईल बरामद गरिएको छ । चिट चोराउनमा कालिका मावि खार्मीका प्रअ प्रकाश राईको समेत संलग्नता रहेको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ । तीन वटा मोबाईल प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिट चोराउने क्रममा कालिका माबिको परिक्षार्थीका लागि ‘इकोनोमिक ग्रुप’ र सरस्वती माबि पाथेकाको लागि ‘क्लास टेन स्टुडेन्ट’ फेसबुक ग्रुप क्रियट गरेको पाइएको छ । अन्य परिक्षा केन्द्रमा समेत मोबाईलको प्रयोग भइरहेको आशंका गरिएको छ ।