सोमवार, चैत्र १९ २०८०
नेपाल वाइड
खोटाङ, २० चैत । डढेलोले खोटाङमा दुई घर जलेको छ । वस्तीमा छिरेको डढेलोले सोमबार हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी काहुलेका देशबहादुर बिक र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका बन्दिरबहादुर राईको घर जलेको हो । स्थानीय छिताकुण्ड सामुदायीक वनमा लागेको डढेलोले बिकको दुई तले घर जलेको हो ।
अनियन्त्रित भएको डढेलोले बिकको घर सहित अन्नपात, लत्ताकपडा, नगद २५ हजार, कागजपत्र लगायत जल्दा अनुमानित एक लाख ७५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । स्थानीय देउरालीस्थित कटहरे पाखा जंगलमा लागेको डढेलोले राईको घर र काठले बनेको दुई वटा गोठ जलेको हो ।
यस्तै, विद्यूत सर्ट हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा धिवाका ठकबहादुर राईको घरमा क्षती भएको छ । आगलागीमा मिटरबक्स, त्यस वरपरका सामान तथा मिटरबक्समुनि राखिएको खाट जल्दा १३ हजार ३४६ रुपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित तारेभीर सामुदायीक वनमा डढेलो लागेको छ । प्रहरीचौकी धितुङबाट खटिएका प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।