आइतवार, चैत्र १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा राजखर्कका स्थानीयले श्रमदान गरेर सामुदायीक भवन निर्माण गरेका छन् । राजखर्क सेवा समाजमा आवद्ध ११ घर स्थानीयले श्रमदान जुटाएर करिब ६ लाख बराबरको सामुदायीक भवन तयार पारेका हुन् ।
समाजको नियमित बैठक बस्न तथा समुहको थालबटुका र भाँडाकुडा राख्नका लागि सामुदायीक भवन निर्माण गरिएको राजखर्क सेवा समाजका सल्लाहकार धनीराम नछुङले बताए ।
‘सानातिना काम गर्न परे राज्यको मुख ताक्ने प्रवृत्ति’ बढिरहेका बेला राजखर्कका स्थानीयले आफैले भवन निर्माण गरेर देखाएका हुन् । गत माघ ४ गतेदेखि फागुन ११ गतेसम्ममा समाजको भवन तयार पारिएको हो । भवन निर्माणका क्रममा आवश्यक सिमेन्ट, बालुवा, रड र जस्ता खरिद गर्न राजखर्क सेवा समाजको कोषमा रहेको ९६ हजार खर्च गरिएको छ ।
भवनको कोठा ढलान गर्न र ढोका हाल्न अझै बाँकी छ । दुई दिनमा बाँकी फिनिसिङको काम सकिने भवन निर्माण समितिका अध्यक्ष उमेश राईले बताए । भवन निर्माणका लागि समाजका सल्लाहकार नछुङले निःशुल्क जग्गा दिएका छन् । भवन निर्माणका क्रममा ११ घरले दैनिक आलोपालोमा खाजा व्यवस्था गरेका थिए ।
हाल समाजमा आवद्ध स्थानीयले हरेक महिनाको १६ गते बैठक बसेर प्रतिघर एक सय रुपैयाँका दरले बचत उठाउँदैआएका छन् । तिहारको बेला देउसी खेलेर पनि कोषमा रकम जम्मा गर्नेगरेका छन् । थालबटुका र भाँडाकुँडा खरिद गरेपछि बाँकी रहेको रकमले भवनका लागि निर्माण सामग्री जुटाइएको हो । कतिपय स्थानीयले व्यक्तीगतरुपमा पनि संस्थालाई भाँडाकुँडा सहयोग गरेका छन् ।
हाल राजखर्क सेवा समाजसँग ३०० सय थान थाल, ६ वटा भाँडा, १५० थान बटुका, ५० थान गिलास, ५० थान मग, ४ थान बाल्टी, ४ थान आरी, डाडु पन्यू लगायतका सामान छन् । भवनकोबीचमा पाटेसन गरेर एउटा कोठामा भाँडाकुडा र अर्को कोठामा बैठक कक्षा बनाउने तयारी गरिएको समाजले जनाएको छ ।