शुक्रवार, चैत्र १६ २०८०
नेपाल वाइड
खोटाङ, १६ चैत । खोटाङमा भाडामा पानी उपभोग गरिरहेका स्थानीय विरुद्ध अख्तियारमा उजुरी परेको छ । वार्षिक रुपमा चामल दिएर पानी पिउँदै आएका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका स्थानीय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
मंगलटारको दमैडाँडा, बरबोट, कार्की गाउँ र राउत गाउँका स्थानीयले ६ वर्ष अघिदेखि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुका जसबहादुर राईको राबुखोलामाथिको सिमसारे खेतमा रहेको मुहानका लागि बार्षिक ३० केजीको ३० प्याक चामल दिएर पानीको जोहो गरिरहेका छन् । त्यसै विरुद्ध अख्तियारमा उजुरी परेको स्थानीय नरकुमार कार्कीले बताए ।
पिउने पानीको चरम अभावकाबीच भाडामा पानी लिने र दिने सम्झौता गरेका स्थानीयलाई दुःख दिने नियतले ‘कसैले’ अख्तियारमा उजुरी हालेको स्थानीयको अनुमान छ । उजुरी हाल्नेको पहिचान नभएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले बताए ।
पानीको चरम अभाव हल गर्ने प्रयास स्वरुप स्थानीयले २०७४ पुसदेखि गाउँभन्दा करिब पाँच किलोमिटर टाढा रहेको मुहान भाडामा लिएका हुन् । २०७४ सालमा पाँच वर्षका लागि गरिएको सम्झौता अवधि सकिएपछि पुःन २०७९ पुस ११ गते १० वर्षका लागि ‘चामलसँग पानी साट्ने’ सम्झौता गरिएको छ ।
बर्दिबासबाट आएको अख्तियारको टोलीले चामलमा पानी लिने–दिने स्थानीयलाई दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा बोलाएर टिप्पणी उठाएर फर्किएको छ । “जालसाजी गरेको होईन । कुनै अनियमितता गरेको होईन । अनाहकमा दुःख दिन उजुरी हालेछ,” कार्कीले भने, “हामीले यतार्थ जानकारी गरायौं । अख्तियारको टोली एग्रीमेन्ट पेपर र जग्गाधनीको लालपुर्जाको फोटोकपी लिएर फर्किएको छ ।”
चामलसँग साटेर लगिएको पानीले दमैडाँडा, बरबोट, कार्की गाउँ र राउत गाउँका ५० घर उपभोक्ता लाभान्वित छन् । पानीको भाडावापत मुहान धनीलाई हरेक चैत मसान्तभित्र घरैमा चामल लगेर बुझाउने गरिएको छ । गत वर्ष पानीको भाडावापत ४५ हजारको चामल खरिद गरेर मुहान धनीलाई बुझाइएको मेखबहादुर थापा मगर बताउँछन् । यसअघिसम्म मुहान धनीलाई कान्छी मन्सुली चामल दिँदैआइएकोमा चालु आर्थिक वर्षदेखि सोना मन्सुली चामल दिने सम्झौता गरिएको छ ।
चामलमा पानी पाएपछि आर्थिक वर्ष २०७४/०७५ मा वडा कार्यालयले पाइप खरिद गर्न डेढ लाख उपलव्ध गराएको थियो । सो रकमले खरिद गरेको पाइप अपुग भएपछि नगरपालिकाले थप २० एमएमको चार क्वाइल र १६ एमएमको तीन क्वाइल पाईप दियो । त्यसले पनि नपुगेको ठाउँमा टिम्बुरबोटे खानेपानी आयोजनाको सापटीका रुपमा चलाइए । पुःन आर्थिक वर्ष २०७५/०७६ मा वडा कार्यालयले उपलव्ध गराएको डेढ लाखमा पाइप खरिद गरेर टिम्बुरबोटे खानेपानी आयोजनालाई फिर्ता दिइएको तिर्थबहादुर कार्कीले बताए ।