शुक्रवार, चैत्र ९ २०८०
नेपाल वाइड
खोटाङ, ९ चैत । जिल्ला अस्पताल खोटाङको ५० शैयाको भवन निर्माणको काम सुचारु भएको छ । गत पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प पारेको निर्माण कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी काठमाडौंले शुक्रबारदेखि काम सुचारु गराएको हो ।
तीन महिनापछि फर्किएको निर्माण व्यवसायीले निर्माणाधिन भवनको प्लाष्टर लगायतका भित्री काम सुरु गरेको जिल्ला अस्पताल खोटाङका डा. रुपेश संग्रौलाले बताए । डा. संग्रौलाका अनुसार निर्माण व्यवसायीले पर्खाल, गेटसम्मको सडक लगायतका काम केही दिनभित्र सुरु गर्ने बताएका छन् ।
जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नती गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार १५ शैयाको जिल्ला अस्पतालका लागि ५० शैयाको भवन निर्माण सुरु गरिएको थियो । तर गत पुसमै बनिसक्नु पर्ने अस्पताल भवन निर्माणको काम अझै अधुरो छ । भवन निर्माणको काममा ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भइरहेको छ ।
श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभीले ३० महिनामा सक्नेगरी २०७८ असार २४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ (भ्याट सहित)मा अस्पताल भवनको ठेक्का लागेको हो । सम्झौता अनुसार गत पुस २४ गते भवन निर्माणको म्याद नाघिसकेको छ । आयोजनाका लागि थप १५ महिना म्याद थप भएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
४० मिटर लम्बाई र २०.५ मिटर चौंडाईको भएको चार तले अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेपछि काम रोकिएको थियो । कामलाई निरन्तरता दिनका लागि फोन गर्दा निर्माण व्यवसायी बाबुराम कट्वाल अधिकांश समय मोबाईल अफ गरेर बस्ने गरेका थिए ।
जिल्ला समन्वय प्रमुख राईका अनुसार अस्पताल भवन निर्माणका क्रममा खटिएका कामदारले पैसा नपाएको भन्दै गुनासो पोखिरहेका छन् । २०४९ साल बैसाख १ गते स्थापना गरिएको अस्पतालमा स्थापना कालमा डा. प्रकाश बिष्टले सेवा गरेका थिए ।