शुक्रवार, चैत्र ९ २०८०
नेपाल वाइड
खोटाङ, ९ चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्नी पिडितलाई राहत प्रदान गरेको छ । फरक–फरक समयमा भएको आगलागीमा घर जलेर विस्थापित भएका परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्रतिपरिवार १० हजारका दरले राहत प्रदान गरेको हो ।
कोषले चैत ८ गतेका दिन आगलागी हुँदा घर जलेर विस्थापित भएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका धनबहादुर राई, चैत ७ गते विद्युत सर्ट हुँदा घर गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका भगतबहादुर राई र भिमबहादुर राईलाई राहत प्रदान गरेको छ ।
यस्तै, चैत ३ गते डढेलोले घर खरानी भएपछि विचल्नीमा परेका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमायाँ राई र टेकबहादुर राई, चैत ३ गतेकै डढेलोमा घर गुमाएका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा चैत १ गतेको आगलागीबाट विस्थापित भएका जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ईन्द्रबहादुर राईलाई राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।
कोषले आगलागीबाट विस्थापित भएका पिडित परिवारको सहज जीवनयापनका लागि घट्ना लगत्तै राहत प्रदान गरेको हो । कोषले जिल्लाका अन्य अग्नी पिडितलाई पनि राहत प्रदान गरिरहेको छ ।
प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा २०७२ सालमा कोष स्थापना गरिएको हो । २० लाखबाट सुरु गरिएको कोषको मुल धन यस वर्ष ३० लाख पुगेको छ । कोषको वार्षिक रुपमा आउने व्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए ।
कोषले आंशिक क्षती भएका पिडितलाई प्रतिपरिवार ५ हजार र पूर्ण क्षती भएका पिडितलाई १० हजारका दरले राहत उपलव्ध गराउँदै आएको छ ।