Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बस्ती छिर्दै वनको डँढेलो

    बस्ती छिर्दै वनको डँढेलो


    • शुक्रवार, चैत्र ९ २०८०

    • दमन राई


    बस्ती छिर्दै वनको डँढेलो
    खोटाङको सावाकटहरेमा डँढेलोले जलेका घर

    खोटाङ, ९ चैत । गत चैत ५ गते खोटाङको साकेला गाउँपालिका-५ मात्तिमका बुद्धिमाया राईको मतान र गोठ डँढेलोले जल्यो। गुर्दुमस्थित नाकेडाँडा सामुदायिक वनमा लागेको डँढेलोले राईको घरकै रूपमा प्रयोग हुँदै आएको मतान सहित लत्ताकपडा, भाँडावर्तन, काठपात र गोठ जल्दा तीन लाख ४५ हजारको क्षति भयो।

    यस्तै, चैत ३ गते राते खोला सामुदायिक वनमा लागेको डँढेलोले खोटाङकै हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ज्ञानमाया राईको घर र गोठ, देवराज राईको मुन्डा घर र दुई वटा गोठ तथा इश्वरमाया राईको गोठ खरानी भए। निभाउन प्रयास गर्दा गर्दै डँढेलोले दूधकोशी जलविद्युत् आयोजनाको स्टोरमा राखिएको १० ड्रम डिजेल समेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    यस्तै, सतिदेवी र खेमकाजी सामुदायिक वनमा लागेको डँढेलोले ऐसेलुखर्क गाउँपालिका-६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्सालको घर तथा युवराज राईको गाई गोठ र बाख्रा खोर लगायत नष्ट भए।

    गत फागुन ३० गते पनि दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासे खिसाकास्थित ठूलोभीर सामुदायिक वनमा डँढेलो लाग्दा सोही ठाउँका जीवन राईको घर र मतान, सुवास राईको मतान र गोठ तथा तारा राईको मतान जल्यो। यसको चार दिनअघि फागुन २६ गते असोजे सामुदायिक वनमा लागेको डँढेलोले हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी पांग्रेका सुमित्रा राईको दुई वटा घर र एक तले एउटा मतानको छाना जलेको थियो।

    खरबारीमा लागेको डँढेलोको झिल्कोले फागुन २१ गते खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका महेश जनकर्मीको घर र उमेश जनकर्मीको मतान नष्ट भएको थियो।

    जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार गत फागुन २१ गतेदेखि चैत ६ गतेबीचमा जिल्लाका विभिन्न ३५ ठाउँमा डँढेलो लागेको छ। डँढेलोका कारण १६ वटा घर र १९ वटा गोठ लगायतका संरचना जल्दा एक करोड ६३ लाख ७७ हजार ५०० बराबरको क्षति भएको छ। डँढेलोकै कारण ७१ वटा खसीबाख्रा, दुई वटा बाछा र १७५ वटा कुखुरा मरेको प्रहरीको तथ्यांक छ।

    सुक्खा याम शुरू भएसँगै खोटाङका १० स्थानीय तहमा अहिले डँढेलो प्रकोप बढेको छ। कतिपय स्थानीयको उठिबास भएको छ। डँढेलोले पर्यावरण, बोटबिरुवा र जंगली जनावरलाई पुर्‍याएको क्षतिको हिसाब छैन। 

    प्रायः मानवीय त्रुटीका कारण वनमा डँढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहाल बताउँछन्। “९९ प्रतिशत मानवीय त्रुटीका कारण डँढेलो लाग्छ। बिजुलीको तारबाट, चट्याङबाट, चट्टान घोटिएर, बाँसको घर्षणबाट हुने घटना ‘रेयर केस’ हो,” दाहालले भने, “सचेतना तथा आगो लागिसकेपछि नियन्त्रण गर्ने कार्यक्रमलाई सँगै गर्न सके डँढेलो नियन्त्रण गर्न सकिन्छ। सबैको सहकार्य आवश्यक छ।”

    जंगली जनावर धपाउन, नयाँ घाँस उमार्न स्थानीयले नै कहिलेकाहीं वनमा डँढेलो लगाउने गरेका छन्। वनजंगल पुगेका वेला बालेको आगो ननिभाई छाड्दा, बालेको सलाई, चुरोटको ठुटो ननिभाई फाल्नाले पनि वनमा डँढेलो लाग्ने गरेको छ।

    वनजंगलमा डँढेलो लगाउनु कानूनतः दण्डनीय मानिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का बताउँछन्। “डँढेलो लगाउनु वातावरण खत्तम बनाउनु हो। जंगल विनास भो। बस्ती क्षति भो,” खड्काले भने, “डँढेलो लाउनेलाई कानूनले १२ वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ।”

    वर्षाले नियन्त्रणमा डँढेलो
    हिउँद वर्षाविहीन हुँदा देशका धेरै स्थानमा डँढेलो सल्किएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलका अनुसार, गत साता मात्रै देशका ३०० भन्दा बढी स्थानमा डँढेलो लागेको थियो। खासगरी, हिउँदे वर्षा नहुँदा देशको पूर्वी भेगमा डँढेलो र आगलागीका धेरै घटना भएका थिए। 

    तर वर्षा भएपछि धेरै स्थानको डँढेलो निभेको भूउपग्रह तस्वीरले देखाएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाको सक्रिय आगलागीको तथ्यांकले पछिल्लो २४ घण्टामा देशको पश्चिमी भागका केही स्थानमा मात्रै डँढेलो र आगलागी बाँकी रहेका देखाएको छ। 

    खोटाङ सहित देशको पूर्वी भागमा सल्केको डँढेलो भने निभेको छ। जिल्लामा चैत ६ गते रातिदेखि सामान्य वर्षा भएको थियो। -हिमालखबर

    सम्बन्धित समाचार