बिहिवार, चैत्र ८ २०८०
दमन राई
खोटाङ, ८ चैत । बैदेसिक रोजगारीका सिलसिलामा यूएई पठाएर अलपत्र पार्ने मेनपावरले कामदारलाई उल्टै ‘माफी मागेको भिडियो र कागज’ तयार पार्न दवाव दिएको पाइएको छ । कामदार करारनामा अनुसारको काम, तलव र सेवा सुविधा नपाएपछि आवाज उठाउँदै विभिन्न मिडियाको सम्पर्कमा पुगेका १९ युवालाई यूएईमा रहेका सञ्जय थापाले ‘आफ्नै गल्ती भएको उल्लेख गर्दै भिडियो र कागज’ बनाउन दवाव दिएको पाइएको हो ।
मेची इन्टरनेशनल ओभर्सिज प्रालि, काठमाडौंमार्फत क्लिनरको कामका लागि यूएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस्मा पठाएको तर करारनामा अनुसारको सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेको खबर चैत १ गते सार्वजनिक भएको थियो ।
कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई, सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनिल श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारु, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, तेर्हथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ अलपत्र परेका थिए ।
अलपत्र बनेको समाचार प्रकाशन भएपछि मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष राजकुमार चौधरी लगायत कम्पनीको स्टाफ बताउने थापाले ‘मिडियाको सम्पर्कमा पुग्नमा मेरो संलग्नता छैन । हामीलाई खान, बस्न कुनै समस्या छैन । स्यालरी दिने पक्का भएको छ’ भन्ने उल्लेख भएको कागज तयार पारेर हस्ताक्षर गर्न लगाइरहेका छन् । भनेजस्तो कागज गरिदिए सम्झौता अनुसारको सेवासुविधा दिने आश्वसन पाएपछि १९ जनामध्ये ११ जना कागज गरिदिएर काममा फर्किसकेका छन् ।
काम र दाम विहिन बनेका आठ युवा हाल डेरा दुबईको क्लकटावरमा बसिरहेका छन् । उनीहरुले भने करारनामा अनुसारको सेवासुविधाबाट बञ्चित गराएर अलपत्र पार्ने अनि उल्टै ‘कमजोरी’ भयो भनेर कागज गराउन खोजेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरिरहेका छन् । उनीहरुले ‘मेरो कमजोरी छैन । वरु मर्न तयार छु, त्यस्तो कागजमा हस्ताक्षर गर्दिन’ भनेर थापालाई भ्वईस मेसेज गरेको पाइएको छ । थापाले ‘केही फरक पर्दैन । अरु केटाहरुले गर्दियो त । भिडियो खिच्नु परेन । त्यो लेख्दैमा केही बिग्रँदैन । त्यसको सम्पूर्ण जिम्मेवारी मेरो हो । मैले लेटर लेखेर पठाइदेको छु,’ भनेको सुनिन्छ ।
सम्झौता अनुसारको सेवा सुविधा नपाएपछि ‘नेपाल फर्काउन’ आग्रह गर्दा पनि थापाले ‘गल्ती गर्यौं । अव बोल्दैनौं । दुईपल्ट खाना र दुईपल्ट खाजा भको ठाउँमा ड्युटी गथ्र्यौं । सेलरी दुई दिन ढिला हुँदा फर्केर आको’ भनेर एक–एक वटा भिडियो बनाउन लगाएका थिए ।
खाने बस्ने सुविधा सहित मासिक ११०० देखि १२०० तलव पाउनेगरी यूएई लगिए पनि खाना सहित मासिक ९०० र आफ्नै खाना खानेलाई मासिक ११०० दिने भन्ने गरिएको छ । उनीहरु एजेन्टलाई जनही १ लाख ९० हजारदेखि २ लाख २० हजारसम्म बुझाएर यूएई पुगेका थिए । मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष चौधरीले सम्झौता अनुसारको सेवा सुविधा उपलव्ध गराउने ग्यारेन्टीका लागि फागुन ७ गते नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस्लाई पत्र पठाएका छन् । अलपत्र युवाले पनि करारनामा अनुसारको सेवा सुविधा पाउने ग्यारेन्टी भए काममा फर्कने बताइरहेका छन् ।
करारनामा अनुसारको सेवा सुविधा नपाउँदा अलपत्र परेका खोटाङका पर्शुराम र राजकुमार राईको उद्धारका लागि आफन्तले चैत ४ गते जिल्ला प्रशासन कार्यालय, खोटाङमा निवेदन दिएका थिए । अलपत्र युवाको उद्धारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको समन्वय र सहयोगमा आफन्त जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
यस्तै, वैदेशिक रोजगार विभागले मेनपावरलाई लिखित जवाफसहित उपस्थित हुन चैत ६ गते निर्देशन दिएको थियो । अलपत्र युवाका अनुसार यूएईमा सम्झौता अनुसारको काम र दाम नपाए दुःख पाइरहेका कैयौं नेपाली छन् । तर उनीहरुको हकहितमा आवाज उठाइदिने कोही छैनन् ।