सोमवार, चैत्र ५ २०८०
दमन राई
खोटाङ, ५ चैत । सँगै पढाउन थालेका सहकर्मीको पेन्सन पाकिसके, कतिपय स्वेच्छिक अवकासमा निस्किसके । धेरैजसो अनिवार्य अवकासको पर्खाईमा छन् । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित जनता आधारभुत विद्यालय, रामपुरमा कार्यरत तुलाराम बास्तोला ३१ वर्षदेखि निजी शिक्षकका रुपमा कार्यरत छन् । गाउँकै स्कुलका लागि भनेर उनले अभिभावकले ‘जति दिन्छ त्यती नै’ तलव लिएर सेवा गर्दैआएका छन् ।
गाउँमा स्कुल स्थापनाका लागि अभिभावक जुटे । नभन्दै २०४९ फागुन ४ गते रामपुरमा स्कुल स्थापना गर्न सफल भए । तर गाउँमा पढाउने शिक्षक थिएन । त्यो बेला गाउँमा एसएलसि उत्तिर्ण गरेकै मान्छे थिएन । न तत्कालिन जिल्ला शिक्षा कार्यालयसँग शिक्षक पठाइदिने क्षमता नै थियो ।
अभिभावकले कक्षा १० मा पढिरहेका बास्तोलालाई शिक्षकका रुपमा काम गर्न अघि सारे । अभिभावकको आग्रहलाई ‘नाई’ भन्न सकेनन् । एसएलसि उत्तिर्ण नगर्दै उनी १९ वर्षको उमेरमा जनता आधारभुत विद्यालयको संस्थापक प्रअ बनेर काम सुरु गरे । प्रअ बनेर काम सुरु गरेको वर्ष दिनपछि २०५० सालमा मात्र उनले एसएलसि परीक्षा दिएका थिए । वर्ष दिनसम्म उनी बिहान–बिहान विद्यार्थीलाई पढाएर आफु पनि स्कुल जान्थे । एसएलसि दिएपछि मात्रै जनता आविमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पठन–पाठन सुरु गरिएको बास्तोला बताउँछन् ।
स्थापना कालमा ६ महिलासम्म उनले बिना पारिश्रमिक स्कुलमा काम गरेका थिए । त्यसपछि अभिभावकले मासिक चार सय तलव दिने निर्णय गर्यो । क्रमशः पाँच सय, छ सय हुँदै २०५८ सालमा मासिक तलव एक हजार पुर्याइएको शिक्षक बास्तोला बताउँछन् । जनशक्ती अभाव भएपछि २०५१ सालमा चोलाकुमारी आचार्य पनि निजी शिक्षकको रुपमा विद्यालयमा जोडिईन् । अभिभावकले चन्दा उठाएर तलव व्यवस्था गर्थे । केही तलव तत्कालिन गाबिसबाट विनियोजन गरेर जुटाइन्थ्यो । पढाउन छोड्दा विद्यालय बन्द हुने अवस्था थियो । ‘नगन्य’ तलव लिएर सेवा गर्नु उनको वाध्यता थियो ।
तत्कालिन जिल्ला शिक्षा कार्यालयले २०५२ साल जेठमा दरबन्दीसहित शिक्षक झमप्रसाद आचार्य पठाए । स्थायी दरबन्दीका आचार्य स्वःत प्रअ बने । आचार्य हालसम्मै प्रअका रुपमा कार्यरत छन् । २०५८ सालमा जिल्ला शिक्षा कार्यालयमार्फत लियन दरबन्दी आयो तर ‘एक विद्यालय एक महिला शिक्षक’ अनिवार्य राख्ने व्यवस्था अनुसार निजीमा कार्यरत चोलाकुमारीले अवशर पाईन् ।
बास्तोलाले जीवनका उर्वर समय स्वयंसेवी शिक्षकका रुपमा बिताए । निजी शिक्षकको तलवले परिवार चल्ने अवस्था नभएपछि उनी २०५८ सालमा श्रम गर्न कतार पुगे । दुई वर्ष विदेश बसेर २०६० सालमा फर्किएपछि उनी पुःन अभिभावकको आग्रहमा सोही विद्यालयमा निजी शिक्षककै रुपमा जोडिएका हुन् । २०३१ सालमा जन्मिएका बास्तोलाले नेपालीमा स्नातक उत्तिर्ण गरेका छन् ।
सरकारले नियमित शिक्षक सेवा आयोग खुलाउन सकेको थिएन । २०५२ सालमा खुलेको शिक्षक सेवा आयोग दिनबाट उनी छुटे । एकैचोटी २०७० सालमा खुलेको शिक्षक सेवा आयोगको परीक्षा दिए तर उनको नाम निस्केन जुन उमेर हदका कारण उनको अन्तिम अवसर थियो ।
२०७६ सम्म आइपुग्दा बास्तोलाको मासिक तलव १३ हजार मात्रै थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७६ देखि २०७९ सम्मका लागि मासिक २६ हजार तलव हुनेगरी अनुदान उपलव्ध गराएको थियो । त्यो बेला नेर्पाकै दिपनारायण रिजाल मेयर थिए । तर २०७९ को निर्वाचनबाट नगरमा तीर्थराज भट्टराई र बिसन राईको नयाँ नेतृत्व आएपछि अनुदान कटौटी भएको बास्तोलाको दुखेसो छ ।
नगरको सो अनुदान कटौती भएपछि चालु आर्थिक वर्षदेखि शिक्षक बास्तोलाले पारिश्रमिक पाउन सकेका छैनन् । हाल अभिभावकबाट चन्दा उठाउन पनि रोक लगाइएका कारण उनलाई पारिश्रमिक जुटाउन सकस भइरहेको प्रअ आचार्य बताउँछन् । श्रोत अभावमा उनले गत साउनदेखि बिना पारिश्रमिक स्वयंसेवी शिक्षकका रुपमा काम गरिरहेका छन् । ‘कुनै श्रोत जुटे पारिश्रमिक लिने, नजुटे सेवा हुने’गरी काम गरिरहेको बास्तोला बताउँछन् ।
बास्तोलाले पढाएका पहिलो विद्यार्थीमध्येका डम्बरप्रसाद बास्तोला हाल सोही विद्यालयमा स्थायी शिक्षक बनेर आइपुगेका छन् । उनले ‘बार्हखरी’ सिकाएका विद्यार्थी निरकुमार अधिकारी, नानीमैयाँ अधिकारी, गायत्री रोका लगायतले सो विद्यालयमा पढाइसकेका छन् ।