आइतवार, चैत्र ४ २०८०
नेपाल वाइड
खोटाङ, ४ चैत । टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले दुई प्रतिभालाई ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका चित्रकार सन्तोष राई ‘सन्जोश’ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बम बानियाँलाई ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको हो ।
प्रतिष्ठानले आईतबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर चित्रकार राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७९/०८०’ र कवि बानियाँलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७८/०७९’ प्रदान गर्न लागिएको जानकारी दिएको हो । ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार आगामी चैत १० गते मुढेस्थित मुन्दुम होटलमा कार्यक्रम गरी प्रदान गर्ने कार्यक्रम तय गरिएको टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए ।
बानियाँलाई अघिल्लो वर्ष प्रदान गर्ने भनिएको पुरस्कार यसपल्ट प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कार प्रदान कार्यक्रममा जिल्लाका श्रष्टाहरुले आपसमा सिर्जना सुन्ने–सुनाउने छन् ।

प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा बिशेष योगदान पुर्याउने उत्कृष्ट एक प्रतिभालाई छनौट गरेर हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको छ । यसअघि २०७२ मा कबि चन्द्र रानोहँछा, २०७३ मा सितोरियो कराते खेलाडी सञ्जयकुमार राई, २०७४ मा गायीका राधा राई र २०७५ मा मुर्तीकार रोजन राईलाई टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको अक्षय कोषबाट प्रतिष्ठानले बिभिन्न विद्याका प्रतिभालाई बार्षिकरुपमा पुरस्कृत गर्दैआएको छ । हाल अक्षय कोषमा ८ लाख जम्मा भइसकेको अध्यक्ष एक्लेले बताए ।