शनिवार, चैत्र ३ २०८०
नेपाल वाइड
भोजपुर, ३ चैत । आगलागीमा परी भोजपुरमा तीन बालबालिकाको मृत्यु भएको छ । शनिबार हतुवागढी गाउँपालिका–७ पात्लेपानी पिप्लेका केदार कार्कीको खोल्मामा आगलागी हुँदा उनकै साँढे ३ वर्षका छोरा प्रनिश कार्की तथा केदारका भाई रमेश कार्कीको साँढे ५ वर्षकी छोरी दिपशिखा र अढाई वर्षका छोरा दिउनिस कार्कीको मृत्यु भएको हो ।
एउटै आँगन भएका घरका अभिभावक काममा गएकोबेला आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको पात्लेपानीका वडाध्यक्ष जंगराज राईले बताए ।
स्थानीय गैयाँराज आधारभुत विद्यालयका शिक्षक हिमालधन राईका अनुसार दिपशिखा कक्षा १ मा र प्रनिश बालकक्षामा अध्ययनरत थिए । खोल्मामा पराल र खर राखिएका कारण अभिभावक आइपुग्दा आगो नियन्त्रण बाहिर गइसकेको थियो ।
खरको छाना भएको, बाँसको टाँड छापिएको खोल्मामा ‘कसरी आगो लाग्यो’ भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जस्ताको छाना भएका कारण दुई घरलाई भने जोगाइएको छ ।