बिहिवार, चैत्र १ २०८०
दमन राई
खोटाङ, १ चैत । रोजगारीका सिलसिलामा यूएई पुगेका १९ नेपाली तोकिएको काम र दाम नपाउँदा अलपत्र परेका छन् । मेची इन्टरनेशनल ओभर्सिज प्रालिमार्फत क्लिनरको कामका लागि चार महिना यता यूएई पुगेका १९ युवा अलपत्र परेका हुन् ।
कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, खोटाङका पर्शुराम राई, नवलपरासीका सुनिल श्रेष्ठ, मोरङका करन सरदार, तेर्हथुमका लक्ष्मीप्रसाद दुलाल, खोटाङका राजकुमार राई, दैलेखका मनबहादुर शाही, झापाका मिश्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारु अलपत्र परेका हुन् । बैदेसिक रोजगारीको नाममा ठगीमा परेका युवाले मेनपावरबाट साँवा व्याज फिर्ता हुनेगरी उद्धारको आग्रह गरिरहेका छन् ।
क्लिनरको काममा लगाउने भन्दै युवालाई फरक–फरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नूर अल अफसा जेनेरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो । तर सम्झौता पत्रमा उल्लेख भएको कम्पनीमा नलगी अन्यत्र राखेर फरक–फरक काममा लगाउने गरिएको खोटाङका पर्शुराम राईले बताए ।
हाल १२ जना युवा भने सार्जा सेफजोन भन्ने ठाउँमा गोदामजस्तो घरमा राखिएका छन् । अन्य ७ युवा अन्यत्र राखिएका छन् । पैसा कमाउने सपनामा उनीहरु मेनपावर व्यवसायी राजकुमार चौधरी, श्याम बिक, निराजन पाण्डे, सन्दीप वाग्ले, शम्भुदास ताती र कुमार तामाङलाई १ लाख ३५ हजारदेखि २ लाख २० हजार तिरेर यूएई पुगेको बताउँछन् । उनीहरुलाई खाने बस्ने सुविधा सहित मासिक ११०० देखि १२०० तलव पाउनेगरी यूएई लगिएको थियो । तर यूएई पुगेपछि खाना सहित मासिक ९०० र आफ्नै खाना खानेलाई मासिक ११०० को हिसाव गर्ने गरिएको छ ।
ऋण काढेर यूएई पुगेका युवालाई कहिले स्कुलमा, महिले मस्जिदमा, कहिले सडक, कहिले सोफा कम्पनीमा ७०/८० केजीको भारी उचाल्ने काम गर्न पठाउने गरेका छन् । नियास नाम गरेका भारतीय र नेपालको सञ्जय थापाले अरु कम्पनीमा काम खोजेर केही दिन काम लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका छन् । काम नगरेको दिन आफ्नै खर्चमा खाँदै बस्नु परेको राईले बताए ।
राई र धादिङका तिलकबहादुर सुनार फागुन ११ गते तथा अन्य युवा चार महिना अघि यूएई पुगेका हुन् । ‘यहाँ गोदाम जस्तो ठाउँमा राखेको छ । अनि जता–जता काम पाउछ, त्यतै सम्पर्क गरेर पठाउछ । कहिले १० दिन काम गरेर १० दिनसम्म कोठामै राख्छ,” राईले भने, “अहिलेसम्म कम्पनी हेर्न पाको छैन । गुगलमा सर्च गर्दा पनि भेटिन्न । त्यही कम्पनीमा लैजाउ भन्दा तिमीहरुलाई पैसा खर्च गरेर ल्याएको, जे भन्छु त्यही गर भन्छ । धेरै बोलिस् भने बाटोमा लगेर छाडिदिन्छु, नेपालतिर कसैलाई सुनाईस् भने पैसा काटिदिन्छु भन्दोरैछ । कुरा गर्यो भने कोठामा एक्लै बोलाएर ढोका थुनेर हप्काउदो रैछ ।”
काम र दाम नपाउँदा केही दिनअघि मात्रै नेपाली युवा तीन दिनसम्म भोकै बस्न वाध्य बनेका थिए । खर्च माग्दा ‘नेपालबाट मगाएर खाउ’ भन्ने गरेका छन् । कतिपय युवाले तीन महिनाको तलव पाएका छैनन् । बिरामी परेको समयमा आराम गर्न समेत नदिइ काममा पठाउने गरेका छन् । नेपालस्थित मेनपावरलाई सम्पर्क गर्दा बेवास्ता गर्ने गरेको पिडित युवाको गुनासो छ ।
कामदार करारनामामा उल्लेख भए अनुसारको सेवा सुविधा माग गर्दा ‘डकुमेन्टमा भनेजस्तो केही हुँदैन, सबै फेक हो च्यातेर फाल्दे’ भन्ने गरेका छन् ।