बिहिवार, चैत्र १ २०८०
नेपाल वाइड
खोटाङ, १ चैत । शरीर कक्राककुक्रुक परेको छ । टाउको नै घोप्टो परेर दुई खुट्टाको घुँडाभन्दामुनि झरेको छ । मुन्टो उठाउन मिल्दैन । यताउता सर्न हातले टेकेर सर्नुपर्ने वाध्यता छ । यो दर्दनाक अवस्था खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे तल्लो माबेका २८ वर्षीय डुकेन्द्र श्रेष्ठको हो ।
दुबै खुट्टा कक्रक्क परेर एकैडल्लो भएपछि डुकिन्द्रले विगत १७ वर्षदेखि कष्टपूर्ण जीवन बिताइरहेका छन् । ११ वर्षको उमेरदेखि नै डुकेन्द्रको स्वास्थ्यमा समस्या देखा परेको हो । आर्थिक अभावका कारण भरपर्दो उपचार नपाउँदा डुकेन्द्रको अवस्था दिनानुदिन पीडादायी बन्दैगएको छ ।
२०५२ बैसाख २५ गते जन्मिएका डुकेन्द्रको स्वास्थ्य अवस्था सामान्य थियो । ११ वर्षको भएपछि गोडा दुख्न सुरु भयो । कटकटी दुखाई क्रमशः तिघ्रा हुँदै पिडौंलातिर सर्यो । आँख्ला–आँख्ला दुख्न थाल्यो । क्रमशः कम्मरसम्म दुख्न थालेपछि शरीर कुप्रो पर्न थालेको हो । शरीर कुप्रो परेपछि उनी हिँड्न नसक्ने अवस्थामा पुगेका हुन् । दुबै खुट्टा खुम्चिएको छ । खुट्टा सुकेर दाउराजस्तै बनेको छ । उनी हिजोआज दुई हातले टेकेर एक ठाउँबाट अर्को ठाउँ घस्रेर सर्ने गरेका छन् ।
सुरुमा डुकिन्द्रलाई धामीझाँक्री गरियो । रोग निको हुनुको सट्टा झन् बल्झिदै गएपछि विभिन्न अस्पताल लगिए । अस्पताल लगेपछि उनलाई गठिया बाथ भएको पूष्टि भएको आफन्त पेशलमान श्रेष्ठले बताए । “पहिला डुकेन्द्र ठीक थियो । सुरुमा खुट्टा दुख्यो भन्दै थियो । एक दुई वर्षपछि काक्राककुक्रुक्क भो,” पेशलमानले भने, “मुन्टो उभो जाँदैन, घोप्टो परिरहन्छ । खुट्टा सुकेर चल्दैन । चार पाउले घस्रेर हिँड्छ ।”
अस्पतालमा लगेपछि डाक्टरले मुटु सम्वन्धी नसाको वाथ रोग लागेको भन्यो । १५–१५ दिनमा इन्जेक्सन दिन सल्लाह दिए । तर खर्च अभाव र बाटोका कारण नियमित इन्जेक्सन लाउन सम्भव भएन ।
लामो समयसम्म ओछ्यानमा थलिएका उनलाई गत वर्ष उपचारकै लागि दमकस्थित कान्छीआमा भद्रकुमारी श्रेष्ठको घरमा झारिएको छ । दमक झरेपछि थेरापी गराउँदा स्वास्थ्यमा केही सुधार आएको थियो तर खर्च अभावमा थप उपचार गराउन नसकिएको बुवा कृष्णनारायण श्रेष्ठले बताए । भएभरका सम्पत्ती सकिएपछि उनलाई फर्काएर घरैमा राखिएको थियो ।
कतारबाट ‘डुकिन्द्र श्रेष्ठ बचाउ अभियान’
खर्च अभावमा घरैमा थलिएका डुकेन्द्रको उपचारका लागि हाल कतारमा रहेका दिलीप श्रेष्ठले ‘डुकिन्द्र श्रेष्ठ बचाउ अभियान’ सुरु गरेका छन् । भारतमा लगेर उपचार गर्दा निको हुने परामर्श पाएपछि ‘डुकिन्द्र श्रेष्ठ बचाउ अभियान’ सुरु गरिएको दिलीपले बताए । कमजोर आर्थिक अवस्थाका डुकिन्द्रको उपचारका लागि तीन हप्तामै करिब १ लाख ६० हजार उपचार खर्च जुटाइसकिएको छ ।
दिलीपका अनुसार डुकिन्द्रको सेक्ने मेसिन खरिदमा मात्रै चारदेखि छ लाख खर्च आवश्यक छ । अभियानकर्ता दिलीप डुकेन्द्रका ठूलोबाका छोरा हुन् । संकलन भएको सहयोग रकम आफन्त पेशलमान श्रेष्ठको नाममा लक्ष्मी सनराइज बैंकमा खोलिएको खाता नम्बर ०९४०५३८२०३२०५००१ मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।