मंगलवार, फाल्गुण २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ फागुन । खोटाङ–हलेसी सेवा समाज काठमाडौंले श्रीमानको किरियामा बसेकोबेला खाना खानै समस्या झेलिरहेकी महिलालाई नगद तथा खाद्यान्न सहयोग गरेको छ । नुवाकोट जिल्लाको लिखु गाउँपालिका–४ रानीटार ठेगाना भइ हाल काठमाडौं बालाजुको खुसीबु बस्दैआएको अवस्थामा श्रीमान पान्डव दनुवार राईको मृत्यु भएपछि पशुपति आर्यघाटस्थित किरियापुत्री भवनमा किरियामा बारिरहेकी माइली दनुवार राईलाई समाजकातर्फबाट नगद तथा खाद्यान्न सहयोग गरिएको हो ।
किरियापुत्री भवनमा किरिया बारिरहेको अवस्थामा बिहान बेलुकाको खाना खान धौ–धौ भएको खबर नयाँ पत्रिका दैनिकबाट सार्वजनिक भएपछि समाजले माईलीलाई मंगलबार नगद ७ हजार २०० र ४ हजार २०० को चामल, दाल, तेल, चिनी, पिठो लगायतका खाद्यान्न प्रदान गरेको हो । समाजकोतर्फबाट नगद तथा अध्यक्ष इन्दा थापा, सल्लाहकार कर्णराज कटुवाल, महासचिव सुरेन्द्र कटुवाल, सह–कोषाध्यक्ष सुब्बा कटुवाल र सदस्य कुमारबाबु बस्नेतले संयुक्त रुपमा खाद्यान्न किनेर प्रदान गरेका हुन् । किरिया बारेर बसिरहेकी माईलीलाई किरियापुत्री भवनमै पुगेर नगद र खाद्यान्न प्रदान गरिएको समाजका सदस्य बस्नेतले जानकारी दिए ।
श्रीमती र छोराछोरी सहित काठमाडौं बसिरहेका पाण्डव रिक्सा चलाएर घर खर्च जोहो गर्दैआएका थिए । पेट पाल्नकै लागि माईली पनि साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । काम नगरेको दिन भोकै रात काट्नुपर्ने अवस्थामा संघर्ष गरिरहेका पाण्डवको फागुन २६ गते मृत्यु भएको थियो । पाण्डवको शवलाई घाट लैजानका लागि शव बाहन बोलाइएको थियो तर चार हजार भाडा तिर्न नसक्दा शव बाहनले शव लैजान अस्वीकार गर्यो । त्यसपछि माईलीले श्रीमानको शवलाई रिक्सामा राखेर छोराछोरीलाई ठेल्न लगाउँदै आर्यघाट पुर्याएकी थिईन् ।

विद्युतीय शव दहन केन्द्रमा पनि चार हजार शुल्क मागियो । माईलीको चार हजार निकाल्न सक्ने अवस्था थिएन । माईली दिनभर श्रीमानको शव रिक्सामै राख्न वाध्य भईन् । अन्तमाः बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यको सहयोगमा पाण्डवको शव दासंस्कार गरिएको थियो ।
अर्कोतर्फ भाडाको कोठामा फर्केर किरया बारेर बस्ने वातावरण थिएन । माईलीले पुःन वैद्यलाई गुहारिन् । वैद्यकै सहजीकरणमा उनलाई किरियापुत्री भवनमा बसेर किरिया बार्ने व्यवस्था मिलाइएको हो । किरिया बार्न बसेपछि उनीहरुको दैनिक ज्यालादारीको काम टुट्यो । ज्याला आउने बाटो बन्द भएसँगै माईलीलाई बिहान–बेलुका खाना खान समेत अभाव सुरु भएको थियो ।