आइतवार, फाल्गुण २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ फागुन । जिल्ला अस्पताल खोटाङको ५० शैयाको भवन निर्माणको काम ठप्प भएको छ । निर्माण कम्पनी श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभी काठमाडौंले गत पुस २४ गतेसम्ममा सक्नुपर्ने अस्पताल भवन निर्माणको काम दुई महिनादेखि ठप्प भएको हो । गत पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प भएको जिल्ला अस्पताल खोटाङका डा. रुपेश संग्रौलाले बताए ।
जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नती गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार १५ शैयाको जिल्ला अस्पतालका लागि ५० शैयाको भवन निर्माण सुरु गरिएको थियो । ‘अस्पताल भवन निर्माणको काम गतिका साथ काम भइरहेको थियो तर भुक्तानी नभएर हो वा अन्य कारणले हो पुसदेखि ठप्प छ,’ डा. संग्रौलाले भने, ‘यसबीचमा एक-दुई दिन प्लाष्टर गरे । एक ट्याक्टर बालुवा थुपारेको थियो ।’
श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभीले ३० महिनामा सक्नेगरी २०७८ असार २४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ (भ्याट सहित)मा अस्पताल भवनको ठेक्का लागेको हो । सम्झौता अनुसार गत पुस २४ गते भवन निर्माणको म्याद नाघिसकेको छ । आयोजनाका लागि थप १५ महिना म्याद थप भएको बताइएको छ ।
४० मिटर लम्बाई र २०.५ मिटर चौंडाईको भएको चार तले अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेपछि काम रोकिएको हो । कामलाई निरन्तरता दिनका लागि फोन गर्दा निर्माण व्यवसायी बाबुराम कट्वाललको मोबाईल अफ हुनेगरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । ‘ठेकेदारलाई धेरै चोटी फोन गरिसकेँ । मोबाईल स्वीचफ छ,’ प्रमुख राईले भने, ‘भुक्तानी नभए हो कि के भएर हो काम ठप्प देखिन्छ । कामदारले पनि पैसा पाएको छैन, हामीलाई गुनासो पोख्न थालिसक्यो ।’
२०४९ साल बैसाख १ गते स्थापना गरिएको अस्पतालमा स्थापना कालमा डा. प्रकाश बिष्टले सेवा गरेका थिए ।