शनिवार, फाल्गुण २६ २०८०
नेपाल वाइड
खोटाङ, २६ फागुन । खोटाङको दिक्तेल अस्पतालचोक–साप्सुखोला सडक स्तरोन्नतीको काम सम्पन्न नहुँदै कटौती गरिएको छ । अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) र दुबेचिवा–साप्सुखोला (४ किलोमिटर) सडक स्तरोन्नतीको काम सम्पन्न नहुँदै सडक बिभागले कटौती गरेको हो । निर्माण कम्पनीको चरम ढिलासुस्तीका बीच सडक स्तरोन्नती आयोजना नै कटौती भएको सडक डिभिजन, हर्कपुरका सूचना अधिकारी ईन्जिनियर सुनिल निरौलाले बताए ।
संघीय सरकारले चालु आर्थिक वर्ष अस्पताल चोक–लफ्याङको दुबेचिवा र दुबेचिवा–साप्सुखोला सडक स्तरोन्नतीका लागि बजेट बिनियोजन गरेको छैन । अस्पतालचोक–साप्सुखोला सडक स्तरोन्नतीको काम करिब ७० प्रतिशत सकिएपछि योजना नै कटाइएको हो । नाली बनाउने, ह्युम पाइप राख्ने, टेवा पर्खाल बनाउने लगायतका स्ट्रक्चरको काम करिब ९० प्रतिशत सकेर ग्राभेल गर्ने चरणमा योजना कटौती भएको सडक डिभिजन, हर्कपुरले जनाएको छ । ‘यो आयोजनाका लागि बजेट बिनियोजन गर्न छुटेको हो कि अलिपछि बजेट बिनियोजन हुने हो ? आयोजनालाई अगाडि बढाउनु कि नबढाउनु भनेर बारम्बार पत्राचार गरेका थियौँ,’ ईन्जिनियर निरौलाले भने, ‘यो सडकमा बजेट बिनियोजन हुँदैन । ती आयोजनालाई अगाडि नबढाउनु भनेर जवाफ आएपछि आयोजनालाई नबढाइएको हो । त्यस आयोजनालाई प्रदेश सरकारबाटचैं बजेट बिनियोजन गर्ने कुरा भएको थियो । भयो या भएन त्यो बारेमा थाहा भएन ।’
निर्माण कम्पनी ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पतालचोक–दुबेचिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको थियो । सो निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन हर्कपुर, ओखलढुंगासँग २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।
यस्तै, सगरमाथा सजिव आरएन जेभीले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी दुबेछिवा–साप्सुखोला सडक खण्ड स्तरोन्नतीको ठेक्का लिएका थिए । सगरमाथा सजिवले २०७९ माघ १५ गते सम्ममा सम्पन्न गर्नेगरी २०७८ चैत २९ गते सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । तर गत असारदेखि दुबै सडक खण्ड स्तरोन्नतीको काम ठप्प भएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण रुग्न योजनाको रुपमा आयोजना कटौती भएको जानकारी पाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
सडक स्तरोन्नतीको काम अलपत्र छाडेर उपकरण लिएर हिँड्न लागेको अवस्थामा नगरपालिकाले गत असोज २ गते ढुकुछु-बगाले-बिएनटीको दुई वटा टिपर, एउटा स्काभेटर र एउटा रोलर तथा २०७९ कात्तिक २० गते एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको थियो ।
अर्कातर्फ निर्माण व्यवसायीले श्रम गरेका कामदारलाई पारिश्रमिक नदिएर रोजीरोटीमाथि खेलवाड गरिरहेको गुनासो आएको छ । ठेकेदारबाट पारिश्रमिक दिलाइदिनकालागि कामदारले असोज १ गते नगरपालिका समक्ष संयुक्त निबेदन दिएका छन् । यस्तै, ठेकेदारले खाना तथा खाद्यान्नको लाखौं रकम नदिएको होटल तथा पसल सञ्चालकले गुनासो गरेका नगर प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।