बिहिवार, फाल्गुण २४ २०८०
नेपाल वाइड
खोटाङ, २४ फागुन । जिल्ला अस्पताल खोटाङमा फागुन २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली कार्यविधि लागु हुने भएको छ । सह–भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याइएसँगै स्वास्थ्य बीमा गरेका नागरिकले पनि उपचार गराउँदा लाग्ने कूल खर्चको १० प्रतिशत रकम अस्पताललाई तिर्नुपर्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली कार्यविधि २०८० कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्डको पुस ९ गतेको पत्र अनुसार स्वास्थ्य बिमित नागरिकले पनि उपचार गराउँदा लागेको कूल खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख डा. पुस्कल राईले बताए ।
जिल्ला अस्पतालले बिहिबार सूचना जारी गर्दै स्वास्थ्य बीमा गरेका नागरिकले पनि कुल खर्चको १० प्रतिशत तिर्नुपर्ने व्यवस्था कार्यान्वयन हुने जानकारी दिएको छ । तर, अति गरिवको परिचय–पत्र प्राप्त गरेका परिवार, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अति अशक्त अपाङगताको परिचय–पत्र (रातो कार्ड) प्राप्त अपाङग, महिला स्वयंसेविका, एचआइभी एड्स संक्रमित, जटिल किसिमको क्षयरोगी र कुष्ठ रोगीले भने १० प्रतिशत तिर्नुनपर्ने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
उपचारका क्रममा सहुलियत हुने भएपछि पछिल्लो समय स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दो छ । बिरामीले उपचार गराएर अन्तिममा काउण्टरबाट कार्ड लिने बेला कुल खर्चको हिसाब गर्ने र सह–भुक्तानी प्रणालीको १० प्रतिशत रकम बुझाउनुपर्ने जिल्ला अस्पतालले जनाएको छ ।