बिहिवार, फाल्गुण २४ २०८०
नेपाल वाइड
खोटाङ, २४ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जापानको तटिय नोटो क्षेत्रमा गएको भूकम्प पिडितको सहयोगार्थ नगद र चित्रकला पठाएको छ । गत जनवरी १ (पुस १६ गते) गएको शक्तिशाली भूकम्पबाट क्षती बेहोरेका जापानी नागरिकको विपद व्यवस्थापनमा सहयोग पुर्याउन नगरपालिकाले नगद २५ हजार र विभिन्न विद्यालयलका छात्र/छात्राले कोरेका १९ थान चित्रकला पठाएको हो ।
भूकम्प प्रभावित क्षेत्रका नागरिक र विद्यार्थीको सहयोगका लागि नोटो प्रिफेक्चर शैक्षिक बोर्ड, नोटो पेनिनसुला जापानको माध्यमबाट सहयोग पठाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् । नगरका विद्यार्थीले कोरेका चित्र जापानमा हुने चित्रकला प्रदर्शनीमा राख्ने र त्यी चित्रकला बिक्रीबाट संकलन हुने रकम भूकम्प पिडितको सहयोगार्थ उपयोग गर्नेगरी चित्रकला पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
नगरपालिकाले गत असोज १७ गतेदेखि असोज २१ गतेसम्म १४ देशका ४३ चित्रकारलाई सहभागी गराएर दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला एबं ५३ देशका चित्रकारले तयार पारेका २१३ वटा चित्र राखेर फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गरेको थियो । चित्रकला कार्यशाला र अन्तर्राष्ट्रिय प्रदर्शनीमा जापानका चित्रकार तथा वैज्ञानिक नाओको हरदा सहभागी भएपछि नगरपालिका र जापानबीच प्रत्यक्ष सम्वन्ध जोडिएको मेयर भट्टराईले बताए ।
दिक्तेलमा आयोजित चित्रकला कार्यशाको प्रभाव स्वरुप नगरका विभिन्न विद्यालयका छात्रछात्राले कोरेका चित्रकलालाई प्रदर्शनीमा राखेर विक्री गर्नेगरी जापान पठाइएको हो ।