मंगलवार, फाल्गुण २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारबाट हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाको कुर्लेघाट जोड्ने सडक कालोपत्रेको काम करिब २५ प्रतिशत सकिएको छ । २०८२ माघ ४ गतेसम्ममा सम्पन्न गर्नेगरी पोखराको फेवा कन्स्ट्रक्सनले २०७९ माघ १० गते च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट सडक कालोपत्रेको ठेक्का सम्झौता गरेको थियो ।
हाल च्यास्मीटार र डिकुवा खण्डमा ड्रेनको काम भइरहेको फेवा कन्स्ट्रक्सनका प्रतिनिधि पत्थरसिं राईले बताए । गत असारसम्म तिव्र गतिमा काम अघि बढाइए पनि सडक डिभिजन हर्कपुर ओखलढुंगाले नियमित भुक्तानी दिन नसक्दा सडक कालोपत्रेको काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । ‘फागुनबाट असारसम्म राम्रो गतिमा काम गर्यौं । भुक्तानी पाउन समस्या भएपछि नियमित काम गर्न सकेका छैनौं,’ राईले भने, ‘अहिले ऋण काढेर काम गरिरहेका छौँ । हालसम्म अनुमानित पौने सात करोडको काम गरिसकेका छौँ ।’
फेवा कन्स्ट्रक्सनले भ्याट सहित २७ करोड ४ लाख ७५ हजार ६६२ मा सक्नेगरी च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट (१०.५ किलोमिटर) सडक कालोपत्रेको ठेक्का लिएको हो । ड्रेन सहित नौ मिटर चौडा हुने कालोपत्रे सडक आयोजना २०७९ चैत १३ गते हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेकी थिईन् ।
मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटारबाट डिकुवा र बाहुनीडाँडालाई जोड्नेगरी च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट सडकको काम अघि बढाइएको हो । यो सडक हलेसी तुवाचुङ नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक हो । २०७७ सालमा च्यास्मीटारबाट डिकुवा तथा बाहुनीडाँडाको जयरामबाट कुर्लेघाट पुग्ने कच्ची सडक बनिसकेको छ । उदयपुतर्फ पनि कच्ची सडक बनिसकेको छ । हाल कुर्लेघाटमा झोलुङ्गे पुलमार्फत नदी वारपार गर्नेगरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए । कुर्लेघाटमा सडक पुलको आवश्यकता खड्किएको छ ।