Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    श्रीमती स्तन क्यान्सरसँग जुध्दै, श्रीमान ऋणसँग

    श्रीमती स्तन क्यान्सरसँग जुध्दै, श्रीमान ऋणसँग


    • सोमवार, फाल्गुण २१ २०८०

    • नेपाल वाइड


    श्रीमती स्तन क्यान्सरसँग जुध्दै, श्रीमान ऋणसँग
    क्यान्सरसँग जुधिरहेकी मिनाको उपचारका लागि सहयोग उठाउन हिँडेका श्रीमान गोबिन्द कट्वाल ।

    खोटाङ, २१ फागुन । स्तन क्यान्सरबाट पिडित बिरामीले सहयोगको याचना गरेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले ठेगाना भइ हाल मोरङको उर्लाबारी नगरपालिका–१ चारघरे गुम्बा निवासी ३७ वर्षीय मिना कट्वालको परिवारले सहयोगको याचना गरेका हुन् ।

    देब्रे स्तनमा क्यान्सर भएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी कट्वालको उपचारका क्रममा घरघडेरी नै सकिने अवस्था आएपछि सहयोगको याचना गर्नुपरेको श्रीमान गोबिन्द कट्वालले बताए । विदेशमा दुःख गरेर उर्लाबारीमा जोडेको घर घडेरी नै साहुलाई बुझाउनुपर्ने अवस्था आएपछि कट्वाल परिवारले रसिद छपाएर सहयोग माग्न सुरु गरेका छन् ।

    गोबिन्द बैदेसिक रोजगारीका सिलसिलामा २०७९ भदौमा दुबई गएका थिए । मिनालाई सोही वर्ष स्तन क्यान्सर भएको पूष्टी भएको हो । सुरुमा स्तनमा घोच्ने, पोल्ने र छाम्दा गिर्खा भेटिएपछि मिनालाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा क्यान्सर भएको आशंका गरिएपछि बिरामीलाई २०७९ मंसिर १२ गते भक्तपुर क्यान्सर अस्पताल लगिएको थियो । भक्तपुर लगेपछि उनलाई स्तन क्यान्सर भएको पूष्टि भएको हो ।

    अस्पतालले तत्काल अप्रेसन गर्नु भने पनि जिम्मा लिने नजिकका आफन्त नहुँदा मिनाको अप्रेसन रोकिएको थियो । गोबिन्द श्रीमतीको उपचारकै लागि बैदेसिक यात्रा छोट्याउँदै गत असोज १५ गते घर फर्केपछि गत कात्तिक १ गते मिनाको अप्रेसन गरिएको हो । अप्रेसन गरेर किमो दिन थालेपछि मिनाको स्वास्थ्यमा सामान्य सुधार हुँदैगएको छ । उनको उपचारको क्रममा हालसम्म १३ लाख सकिएको गोबिन्दले बताए ।

    गोबिन्दले साउदीमा तीन वर्ष र कतारमा ३१ महिना बसेर उर्लाबारीमा घडेरी जोडेर घर बनाएका थिए । हाल श्रीमतीको उपचारका लागि १० लाख ऋणमा सोही घर धितोमा राखेको गोबिन्द बताउँछन् । ‘श्रीमतीको उपचारका लागि १० लाखमा घर धितोमा राखेको छु । तीन लाख सरसापट गरेर जुटाएँ,’ गोबिन्दले भने, ‘ऋण तिर्न घर बेच्नुपर्ने अवस्था आएको छ । अस्पतालले अझै पैसा चाहिन्छ भनिरहेको छ ।’

    मिनाको उपचारार्थ उर्लाबारी नगरपालिका–१ वडा कार्यालयले एक लाख दिएको छ । क्यान्सरसँग जुधिरहेकी मिनालाई श्रीमान गोबिन्द कट्वालको नाममा नोबिल बैंकमा खोलिएको खाता नम्बर ०८५१००१७५०४४५७ मार्फत सहयोग गर्न सकिन्छ । कट्वाल दम्पत्तीका एक छोरा र दुई छोरी छन् ।

    सम्बन्धित समाचार