आइतवार, फाल्गुण २० २०८०
नेपाल वाइड
खोटाङ, २० फागुन । पुल निर्माण नहुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय डुंगाकै भरमा सुनकोसी नदी वारपार गर्न वाध्य छन् । डिकुवाको बाईटार र कटारी नगरपालिका–१० चिपटार जोड्ने सुनकोसीमा पुल नबन्दा स्थानीय पुस्तौंदेखि डुंगाको भरमा वारपार गर्न वाध्य छन् ।
पुल अभावमा साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका करिब ११० परिवार डुंगा चढेर नदी वारपार गर्न वाध्य बनेको सुनकोसी प्रावि बाईटारका प्रअ बिशाल राईले बताए ।
उदयपुरको कटारी लगायतका शहर पुगेर ‘नुनदेखि सुन’ ल्याउनका लागि डिकुवाका स्थानीयले जोखिम मोलेर बाईटार–चिपटार घाट तर्ने गरेका छन् । बाईटारबाट नदी तरेपछि उदयपुरको चिपटार–बेतेनी हुँदै कटारी पुग्न सकिन्छ । कटारी पुगेर आवश्यक सामग्री ल्याउनका लागि सबैभन्दा छोटो दुरी भएकाले डिकुवाका स्थानीयले जोखिम मोलेर डुंगाको यात्रा गर्दैआएको स्थानीय निर्पबहादुर राई बताउँछन् ।
घाटको वारी पारिसम्म कच्ची सडक बनिसकेको छ । तर, हालसम्म डुंगा विस्थापित गर्ने पुल बनेको छैन । मोटरबाईक समेत डुंगामा हालेर तार्ने गरिएको छ । हिउँदमा डुंगाबाट वारपार भए पनि वर्षामा डुंगा ठप्प हुन्छ ।
निर्माणाधिन झोलुङ्गे पुल अलपत्र
२०७६ सालमै बाईटार–चिपटार जोड्ने झोलुङ्गे पुल निर्माणको काम सुरु गरिएको थियो तर ठेकेदारको लापरवाहीका कारण पुल निर्माणको काम अलपत्र छ । ठेकेदार बशन्त बुढाथोकीले ३० महिनामा सक्नेगरी २०७६ वैसाख २६ गते पुल निर्माणको ठेक्का लिएको थियो । झोलुङ्गे पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ ।
प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको ३ करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो । पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती भएको स्थानीय नयन जेरो राईले बताए । पुल निर्माणको काममा ढिलाइ भएपछि हलेसी तुवाचुङ नगरपालिकाले नै नयाँ डुंगा बनाउन आर्थिक सहयोग गरेको थियो । पुल निर्माण सुरु भए यता तीन वटा डुंगा फेरिसकिएको छ । एउटा सिमलको डुंगा करिब तीन वर्ष टिक्छ ।

निर्माणाधिन झोलुङ्गे पुलको उदयपुरतर्फको ठड्याइसकिएको टावर गत चैत १० गते ढलेको थियो । टावर ढले यता झोलुङ्गे पुलको काम ठप्प भएको हो । चौतर्फी दवावपछि ठेकेदारले मंगलबारदेखि पुलको काम सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् । ‘ठेकेदारले अव कुनै पनि वाहनामा छुट नपाउने’ प्रदेश सांसद भूपेन्द्र राईले बताए ।