Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    धरानमा एयरपोर्ट बन्दैनः मन्त्री किराती

    धरानमा एयरपोर्ट बन्दैनः मन्त्री किराती


    • आइतवार, फाल्गुण २० २०८०

    • नेपाल वाइड


    धरानमा एयरपोर्ट बन्दैनः मन्त्री किराती

    खोटाङ, २० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले धरानमा एयरपोर्ट बनाएर जनतालाई ऋण बोकाउन नहुने धारणा राखेका छन् । प्रेस सेन्टर नेपाल खोटाङले आइतबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले बजार र ट्राफिक अध्ययन गर्दा धरानमा एयरपोर्ट बनाउनुको औचित्य नभएको बताएका छन् ।

    अवको एयरपोर्ट दुबैतिरबाट ल्याण्ड गर्न मिल्ने बनाउनुपर्नेमा अध्ययनका क्रममा धरानमा दक्षिणतिरबाट मात्रै ल्याण्ड गर्न मिल्ने एयरपोर्ट बन्ने मन्त्री किरातीले बताए । “धरानमा दक्षिणबाट उत्तरतिर फर्केको एयरपोर्ट बन्छ । अवको जमनामा दुई पट्टिबाट बस्ने एयरपोर्ट हुनुपर्छ । एकपट्टीबाट मात्रै बस्ने एयरपोर्ट त हिजो बनाइयो, दुःखको बेला बनाइयो । आजको युगमा दुईपट्टीबाट बस्ने बनाउनुपर्छ । धरानमा दुईपट्टीबाट बस्ने एयरपोर्ट अहिलेलाई बन्दैन भन्ने अध्ययनमा आयो । अचानक दक्षिणबाट प्रवेश गरेको जहाज ल्याण्ड हुन सकेन र ओभरसुट गर्नुपर्‍यो भने माथि डाँडा छ,” मन्त्री किरातीले भने, “अहिले बिराटनगरको एयरपोर्ट त फुलफेजमा चलेको छैन । धरानमा अर्को एयरपोर्ट थपेर जनतालाई ऋणको भारी बोकाउनु हुँदैन । हामीले कुखुराको भाले लगानी गरेर पाठो ल्याउनुपर्‍यो । पाठो लगानी गरेर भालेतिर गइयो भने हामी झन् टाट पल्टिदै जान्छौँ । अहिलेको आर्थिक क्राइसिसको परिणाम यो पनि हो ।”

    किरातीले हाल धरान–बिराटनगर ६ लेनको बाटो बनिरहेको र दुरीका हिसावले पनि आधा घण्टादेखि ३५ मिनेटको दुरीमा रहेका कारण धरानमा एयरपोर्ट नबन्ने दावी गरे । “बिराटनगर एयरपोर्टलाई भविष्यमा क्रसबोर्डर सटल फ्लाइट गर्न सकिन्छ भनेर सुन्दर टर्मिनल भवन बन्दैछन् सानो–सानो अन्तर्राष्ट्रिय फ्लाइट पनि धान्नेगरीको । अहिले त्यहाँ १७ देखि १८ फ्लाईट मात्रै छ । कमसेकम बिराटनगरमा फुलफेजमा चलाउन ५० फ्लाईट गर्नुपर्छ,” किरातीले भने, “धरानमा जहाज बस्नका लागि अर्को अल्टरनेटिभ एयरपोर्ट खुलेकै हुनुपर्छ । बिराटनगरको उडान भर्नको निम्ति भद्रपुरको खुल्नैपर्छ, बाइचान्स जहाज आएर बस्न सकेन भने अर्कोमा डाइभर्ट गर्नुपर्ने हुन्छ । त्यस कारण धरानमा राख्नका लागि बिराटनगर खुल्नैपर्छ । बिराटनगरको खुल्यो भने त्यही बसिनै हाल्ने हुन्छरैछ ।”

    संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री किरातीले राष्ट्रिय सहमतीको सरकार बनाउने बाटोमा जाँदा नेपाल र नेपालीको हित हुने बताएका छन् । किरातीले गरिबी, बेरोजगार, अशिक्षा र रोगलाई नेपाली जनताको साझा दुस्मन किटान गरेर त्यसको अन्त्याको लागि राष्ट्रिय सहमतीको सरकार बनाइनुपर्नेमा जोड दिएका हुन् । “नेपालको निरंकुशता हामीले मिलेर ढाल्यौं । कुनैपनि निरंकुसताको अन्त गर्नका लागि सबै राजनीतिक पार्टीहरु एकठाउँमा उभिनुपर्ने इतिहासले सिद्ध गरिसकेको कुरा हो । अव फेरी हाम्रो चुनौती गरिबी हो भने, भ्रष्टाचार हो भने हामीले एकचोटी मिलेर राष्ट्रिय सहमतीका साथ परास्त गर्न सक्यौं भने समृद्ध नेपालको जग सुन्दर ढंगले हाल्न सक्छौँ,” किरातीले भने, “सबै मिलेर तिमीहरुले कुनैपनि चुनौतीको सामना गर्न सक्छौँ, नेपाल बनाउन सक्छौँ भन्ने संविधानको स्पष्ट मार्ग दर्शनमा गठबन्धनलाई अझ बलियो बनाउदै जाने र त्यसभित्र देखिएको बिसंगतीपूर्ण सवालमाथि निर्ममताका साथ समिक्षा गर्ने र सम्भव हुन्छ भने राष्ट्रिय सहमतीको सरकार बनाउने बाटोमा जाँदाखेरी नेपाल र नेपालीको हित हुन्छ ।”

    मन्त्री किराती सोल्मा स्पोर्टस् क्लवको आयोजनामा जारी २३ वर्षमुनिको चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता समापनको सिलसिलामा खोटाङ आएका हुन् ।

    सम्बन्धित समाचार