शनिवार, फाल्गुण १९ २०८०
नेपाल वाइड
खोटाङ, १९ फागुन । खोटाङमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । सन् २०२६ सम्ममा दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकारको अभियान अन्तरगत खोटाङमा आगामी फागुन २९ गतेदेखि चैत ३ गतेसम्म दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको हो ।
स्वास्थ्य कार्यालय खोटाङले शनिबार आयोजना गरेको जिल्ला स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अभिमुखीकरण र बहस पैरबी गोष्ठीमार्फत दादुरा–रुबेला खोप अभियान २०८० को पुर्वतयारीका बारेमा जानकारी दिएको हो । अभियानकाबीच जिल्लाका ९ महिनादेखि ५ वर्षमुनिका १४ हजार ८२ बालबच्चालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौंलागाईले जानकारी दिए ।
पाँच दिनको खोप अभियानका लागि जिल्लाका १० स्थानीय तहमा ३९२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । प्रतिखोप केन्द्र दुई जनाका दरले ७८४ स्वयंसेवक तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, हरेक खोप केन्द्रमा खोप दिने एक/एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । खोप पाउनबाट छुट बच्चाको द्रुत सर्वेक्षणका लागि ३९५ जना जनशक्ती परिचालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख चौंलागाईले बताए । दादुरा रुबेलाबाट संक्रमित एक जनाबाट १८ जनासम्मलाई संक्रमण सर्ने भएकाले यसलाई कोभिडभन्दा खतरनाक संक्रामक रोग मानिन्छ ।
स्वास्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिकाका १ हजार ८८, ऐसेलुखर्क गाउँपालिकाका १ हजार ४४, रावाबेँसी गाउँपालिकाका ९१२, हलेसी तुवाचुङ नगरपालिकाका २ हजार २९२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ हजार २५९, साकेला गाउँपालिकाका ७१२, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ हजार ३७४, खोटेहाङ गाउँपालिकाका १ हजार ३५४, जन्तेढुंगा गाउँपालिकाका १ हजार ३७ र बाराहापोखरी गाउँपालिकाका १ हजाजर ११ जना बालबच्चालाई खोप दिने तयारी गरिएको छ । नियमित खोप छुटेको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिका अनुसार नजिकैको खोप केन्द्रमार्फत खोप लगाउन सकिने प्रमुख चौंलागाईले बताए ।
दादुरा मिजल्स भाईरसको कारण अति छिटो सर्ने संक्रामक रोग हो । स्वास्थ्यकर्मीका अनुसार दादुरा–रुबेलाको संक्रमण भएको अवस्थामा बालबच्चालाई ज्वरो आउने, शरीरमा रातो विमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने, रुघाखोकी लगायतका लक्षण देखा पर्न सक्छन् ।