सोमवार, फाल्गुण १४ २०८०
नेपाल वाइड
खोटाङ, १४ फागुन । खोटाङमा मानसिक समस्याका कारण खोरमा थुनिएकी महिलालाई उद्धार गरेर अस्पताल भर्ना गरिएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीगाउँकी २९ वर्षीय फुर्दिकु शेर्पालाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।
खोरमा थुनेर राखिएकी शेर्पालाई निःशुल्क उपचार गर्नेगरी मानसिक अस्पताल लगनखेल, ललितपुरमा दिउँसो ४.४५ बजे भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । बिरामीलाई नगरपालिकाले जीपमा चढाएर अस्पताल पुर्याएको हो । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको मेयर भट्टराईले बताए ।
मान्छे देख्दा झनक्क सिराउने, आक्रमण गर्ने, गालीबेइज्ज बोल्ने, बेठेगान तरिकाले हिँड्ने लगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि शेर्पालाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त अधिकारीसँग कुरा गरेर शेर्पाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको मेयर भट्टराईले बताए । मानसिक सन्तुलन गुमाएका कारण फुर्दिकु खोरमा थुनिन वाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।
२०६७ सालमा एसएलसिको तयारी गरिरहेका बेला शेर्पालाई मानसिक समस्या देखा पर्न सुरु भएको हो । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो । कोभिड–१९ को महामारीका बेला पनि उनमा दोश्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएकी शेर्पा पुःन गत माघ ३ गतेदेखि अस्वस्थ बनेकी हुन् । उनलाई खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो ।
फुर्दिकु नुनथलाकै जालपा माबिमा एसएलसीको तयारीमा थिईन् । उनी विद्यालय नजिकै कोठा लिएर बसेकी थिईन् । १६ वर्षको उमेरमा एसएलसिको तयारी गरिरहेकोबेला उनलाई पहिलोपल्ट मानसिक समस्या देखिन थाल्यो । निको हुने आशामा सोलुखुम्बुदेखि काठमाडौंसम्मका धामीझाक्री गरिए । माताकोमा लगिए । त्यती गर्दा पनि ठीक नभएपछि परिवारले उनलाई जिल्ला अस्पताल दिक्तेल पुर्याए । अस्पतालले दिएको औषधि सेवन गरिरहेकै बेला ‘क्रिस्चियन धर्म मान्दा ठीक हुन्छ’ भनेर क्रिस्चियन बनाइए । फुर्दिकु सोलुखुम्बुमा ७ महिना क्रिस्चियन बनेर घर फर्काइन् । त्योबेलासम्मा औषधिका कारण मानसिक समस्यामा धेरै सुधार भइसकेको थियो । क्रमशः उनको मानसिक समस्या पूर्णरुपमा निको भयो ।
२१ वर्षको उमेर पुगेपछि फुर्दिकुले २०७२ सालमा भोजपुर अन्नपुर्णका दाजाङ शेर्पासँग विवाह गरिन् । छोरा पस्नुरी जन्माईन् । मुटुको समस्यका कारण २०७६ सालमा श्रीमानको मृत्यु भयो । २५ वर्षकै उमेरमा बिधुवा बनिन् । कोभिड–१९ ले बिश्व आक्रान्त पारिरहेको थियो । श्रीमानको मृत्यु भएको वर्ष दिनपछि फुर्दिकुलाई पुःन मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो । अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पुर्याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो । तर खाँदैगरेको औषधि नियमित खान छाडेपछि उनलाई पुःन स्वास्थ्यमा समस्या दोहोरिएको हो । फुर्दिकुको उपचारका क्रममा लाखौं खर्च भइसकेको बुवा पेमाछेतर शेर्पाले बताए ।
शेर्पा दम्पत्तीका दुई छोरा र तीन छोरी छन् । त्यसमध्ये जेठी छोरी हुन् फुर्दिकु । श्रीमानको मृत्युपछि फुर्दिकु छोरा पस्नुरीसहित माइती घर फर्किएकी हुन् । ६ वर्षका पस्नुरी हाल कक्षा ३ मा पढ्छन् ।
फुर्दिकुलाई शुभेच्छुकको सहयोग जुट्दै
मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुर्दिकुको लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्न थालेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि शेर्पाको उद्धार एवं उपचारका लागि हालसम्म ३२ दाताबाट ५१ हजार ३१२ रुपैयाँ सहयोग संकलन भइसकेको छ । पत्रकार चिसाङ शेर्पाको पहलमा फुर्दिकुको सहयोगमा आर्थिक सहयोग जुट्न थालेको हो ।
२६ जनाबाट संकलन भएको ३० हजार ५०० रुपैयाँ भने सोमबार बुवा पेमाछेतरलाई हस्तान्तरण गरिसकिएको छ । फुर्दिकुको लागि जुटेको सहयोग रकम छोरा पस्नुरीको शिक्षादिक्षामा उपयोग गर्नेगरी हस्तान्तरण गरिने पत्रकार शेर्पाले बताए ।