सोमवार, फाल्गुण १४ २०८०
नेपाल वाइड
खोटाङ, १४ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्य देखिएपछि खोरमा थुनिएकी महिलालाई उद्धार गरेर उपचारका लागि अस्पताल लगेको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी २९ वर्षीय फुर्दिकु शेर्पालाई नगरपालिकाले सोमबार उद्धार गरेर उपचारका लागि अस्पताल लगेको हो । खोरमा थुनेर राखिएकी शेर्पालाई निःशुल्क उपचार गर्नेगरी जीप चढाएर काठमाडौं लगिएको छ । शेर्पाको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रवन्ध मिलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
मान्छे देख्दा झनक्क सिराउने, आक्रमण गर्ने, गालीबेइज्ज बोल्ने, बेठेगान तरिकाले हिँड्ने लगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि शेर्पालाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त अधिकारीसँग कुरा गरेर शेर्पाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको मेयर भट्टराईले बताए । मानसिक सन्तुलन गुमाएका कारण फुर्दिकु खोरमा थुनिन वाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।
२०६७ सालमा एसएलसिको तयारी गरिरहेका बेला शेर्पालाई मानसिक समस्या देखा पर्न सुरु भएको हो । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो । कोभिड–१९ को महामारीका बेला पनि उनमा दोश्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएकी शेर्पा पुःन गत माघ ३ गतेदेखि अस्वस्थ बनेकी हुन् । उनलाई खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो ।
परिवारको पहिलो सन्तान फुर्दिकु नुनथलाकै जालपा माबिमा एसएलसीको तयारीमा थिईन् । उनी विद्यालय नजिकै कोठा लिएर बसेकी थिईन् । १६ वर्षको उमेरमा एसएलसिको तयारी गरिरहेकोबेला उनलाई पहिलोपल्ट मानसिक समस्या देखिन थाल्यो । निको हुने आशामा सोलुखुम्बुदेखि काठमाडौंसम्मका धामीझाक्री गरिए । माताकोमा लगिए । त्यती गर्दा पनि ठीक नभएपछि परिवारले उनलाई जिल्ला अस्पताल दिक्तेल पुर्याए । अस्पतालले दिएको औषधि सेवन गरिरहेकै बेला ‘क्रिस्चियन धर्म मान्दा ठीक हुन्छ’ भनेर क्रिस्चियन बनाइए । फुर्दिकु सोलुखुम्बुमा ७ महिना क्रिस्चियन बनेर घर फर्काइन् । त्योबेलासम्मा औषधिका कारण मानसिक समस्यामा धेरै सुधार भइसकेको थियो । क्रमशः उनको मानसिक समस्या पूर्णरुपमा निको भयो ।
२१ वर्षको उमेर पुगेपछि फुर्दिकुले २०७२ सालमा भोजपुर अन्नपुर्णका दाजाङ शेर्पासँग विवाह गरिन् । छोरा पस्नुरी जन्माईन् । मुटुको समस्यका कारण २०७६ सालमा श्रीमानको मृत्यु भयो । २५ वर्षकै उमेरमा बिधुवा बनिन् । कोभिड–१९ ले बिश्व आक्रान्त पारिरहेको थियो । श्रीमानको मृत्यु भएको वर्ष दिनपछि फुर्दिकुलाई पुःन मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो । अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पुर्याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो । तर खाँदैगरेको औषधि नियमित खान छाडेपछि उनलाई पुःन स्वास्थ्यमा समस्या दोहोरिएको हो । फुर्दिकुको उपचारका क्रममा लाखौं खर्च भइसकेको बुवा पेमाछेतर शेर्पाले बताए ।
शेर्पा दम्पत्तीका दुई छोरा र तीन छोरी छन् । त्यसमध्ये सबैभन्दा जेठो सन्तान हुन् फुर्दिकु । श्रीमानको मृत्युपछि फुर्दिकु छोरा पस्नुरीसहित माइती घर फर्किएकी हुन् । ६ वर्षका पस्नुरी हाल कक्षा ३ मा पढ्छन् ।
फुर्दिकुको उपचारका लागि ३० हजार ५०० सहयोग
मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुर्दिकुको उपचारका लागि शुभेच्छुकबाट ३० हजार ५०० आर्थिक सहयोग जुटेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि शेर्पाको उद्धार एवं उपचारका लागि २६ जना शुभेच्छुकबाट आर्थिक सहयोग जुटेको हो । पत्रकार चिसाङ शेर्पाको पहलमा संकलन भएको सहयोग रकम बुवा पेमाछेतर शेर्पालाई हस्तान्तरण गरिएको छ । सहयोग रकम नेपाल पत्रकार महासंघ खोटाङका पुर्वअध्यक्ष दमन राईले शेर्पालाई हस्तान्तरण गरेका थिए ।