Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जालपामा साँस्कृतिक संग्रहालय स्थापना

    जालपामा साँस्कृतिक संग्रहालय स्थापना


    • सोमवार, फाल्गुण ७ २०८०

    • नेपाल वाइड


    जालपामा साँस्कृतिक संग्रहालय स्थापना
    तस्बीर सौजन्यः दानबहादुर राई

    खोटाङ, ७ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा साँस्कृतिक संग्रहालय स्थापना गरिएको छ । बाजे पुर्खाको पालामा प्रयोग भएका पुराना–पुराना घरेलु सामग्री संकलन गरेर जालपा साँस्कृतिक संग्रहालय स्थापना गरिएको हो ।

    वडा कार्यालयको पहलमा स्थापना गरिएको साँस्कृतिक संग्रहालय फागुन ६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई र ८३ वर्षीय बलबहादुर राईले उद्घाटन गरेका हुन् । तत्कालिन गाबिसको भवनको सभाहलमा स्थापना गरिएको संग्रहालयमा करिव दुई सय वर्ष पुरानो र त्यस यताका गरी दुई सय बढी प्रकारका घरेलु सामग्री राखिएको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।

    संग्रहालयमा ध्वासो लागेको अवस्थाका छालाको थैली, काठको दुध चलाउने डाडु, बेतको भुने, आरानमा आगो फुक्न प्रयोग हुने भाँटी, जाँतो, काठको दियो (वत्ती), काठको माना, भाला, धनुषवाण, तरवार, काठको मुखुण्डो, कोक्रो, ढाकर, जाल, ठकौली, ढडिया, दुधेरी, चर्खा, हतासो, रासी, थुरी लगायतका सामग्रीहरु राखिएका छन् । हरेक सामग्रीमा सौजन्य र प्रयोग गर्नेको नाम लेखेर टाँसिएको छ । पुरानो सामग्री प्रयोगकर्तामा मृत्यु भइसकेका व्यक्तिका नाम समेत उल्लेख छन् ।

    museum at jalapa (iii).jpg

    संग्रहालयमा काठको पन्यु, काठको चम्चा, काठे गिलास, हर्पे, ठेका, दाविलो, डोको, नाङलो, ओख्ली, लोहोरो, हलो, फुर्लुङ, मुढा, कोक्रो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, फिपी, घुर्रा, मदानी, ठेका, जुवा, हल्लुड, सोईला, फिर्के, दाबिलो, खरेटो, चिम्टा, हँसिया, कचिया, सिलौटा, लोहोरो, कर्द लगायतका घरायसी सामग्रीहरु संग्रहित गरिएका छन् । संग्रहालयमा लोपोन्मुख सामग्री थप गर्दै लगिने वडाध्यक्ष राईले बताए ।

    “हाम्रा पुर्खाहरुले आफ्नो जीवनकालमा प्रयोग गरेका ऐतिहासिक सामग्रीलाई संकलन र संरक्षण गर्दै नयाँ पुस्तालाई जानकारी दिने लक्ष्यका साथ संग्रहालय स्थापना गरेका हौँ,” वडाध्यक्ष राईले भने, “यी सामग्रीहरु हाम्रो इतिहास हो, इतिहास अध्ययन गर्ने प्रमाण पनि हो । संग्रहालयमार्फत गाउँलाई अध्ययन, भ्रमण र अवलोकनका लागि योग्य स्थल बनाउने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ । काठमाडौंका एउटा विद्यालयले शैक्षिक भ्रमणमा आउँछौँ भनिसकेको छ ।” 

    संग्रहालयका लागि स्थानीयले ऐतिहासिक सामग्री निःशुल्क उपलव्ध गराएका छन् । साँस्कृतिक संग्रहालय उद्घाटनका क्रममा जालपाका पुर्ववडाध्यक्ष विकास राई, तत्कालिन पुर्वजिविस सदस्य जयश्वर राई, पुर्वश्रोतव्यक्ति प्रतिमान राई, पुर्वप्रधानपञ्च कुविर राई, तत्कालिन पुर्ववडाध्यक्ष टेकबहादुर राई, बिरमल राई, संग्रहालय स्थापनाका लागि अगुवाइ गरेका समाजसेवी इमान राई लगायतको उपस्थिति रहेको थियो । 

    museum at jalapa (ii).jpg

    सम्बन्धित समाचार