शनिवार, फाल्गुण ५ २०८०
नेपाल वाइड
खोटाङ, ५ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु गरेको छ । स्वदेसी तथा विदेसी चित्रकारलाई सहभागी गराएर असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको नगरपालिकाले शनिबारदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु गरेको हो ।
कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा आयोजना गरिएको चित्रकला प्रदर्शनी राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी ४३ चित्रकारले कोरेका चित्रहरु राखेर प्रदर्शनीको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताए । अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ ।








तस्बीरहरुः दमन राई