शनिवार, फाल्गुण ५ २०८०
नेपाल वाइड
खोटाङ, ५ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु गरेको छ । स्वदेसी तथा विदेसी चित्रकारलाई सहभागी गराएर असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको नगरपालिकाले शनिबारदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु गरेको हो ।
कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा आयोजना गरिएको चित्रकला प्रदर्शनी राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी ४३ चित्रकारले कोरेका चित्रहरु राखेर प्रदर्शनीको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताए । अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ ।
संसारभरि छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिंगो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ नगरपालिकाले धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आयोजना गरेको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती लगायतको उपस्थिति रहेको थियो ।
दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका बनाएका ११८ सहित दुई सय चित्रलाई प्रदर्शनमा राखिएको उपमेयर बिसन राईले बताए । १८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर उतारेका लाइभ पेन्टिङलाई प्रदर्शनमा राखिएको छ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीकै अर्कोे श्रृंखलाको रुपमा आयोजना गरिएको हो । प्रदर्शनमा राखिएको चित्रलाई पुःन दिक्तेलमा लगेर संग्रहालय बनाएर राख्ने योजना बनाइएको मेयर भट्टराईले बताए ।
नगरपालिकाले पहिलो चरणको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा १८ लाख खर्च गरेको जानकारी दिएको छ । कतिपयले भने अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् ।
स्वदेस तथा बिदेशका ख्याती प्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुची राख्ने प्रतिभालाई उर्जा मिलेको, चित्रकला सम्वन्धी ज्ञान आर्जन भएको, बिदेसी चित्रकारको मानसपटलमा नगरपालिकाको छाप बस्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको दावी गरिएको छ ।


