बिहिवार, फाल्गुण ३ २०८०
नेपाल वाइड
खोटाङ, ३ फागुन । खोटाङको बाराहापोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पालिएका गाईवस्तुमा खोरेत रोगको संक्रमण फैलिएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङको टप्पु र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका किसानले पालेको गाईगोरु र राँगाभैंसीमा खोरेतको संक्रमण देखिएको हो ।
फाक्टाङको टप्पुमा गत माघ २५ गतेदेखि खोरेतको संक्रमण फैलिएको हो । हालसम्म फाक्टाङ टप्पुका १८ गाईवस्तु खोरेतले संक्रमित भएको र एउटा मरिसकेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख आशिष बञ्जराले बताए । खोरेतको संक्रमण नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा, विज्ञ केन्द्र उदयपुरबाट एक हजार डोज भ्याक्सिन ल्याएर फाक्टाङको टप्पु, भञ्ज्याङखर्क, माक्सिङटार र बराहपोखरी गाउँपालिका–२ सुन्तलेको धाप्लाङघाटका गाईवस्तुलाई भ्याक्सिन दिइसकिएको छ । खोरेतको संक्रमण फैलिनसक्ने ठाउँका गाईवस्तुलाई लक्षित गर्दै खोप दिइएको पशुसेवा शाखा प्रमुख बञ्जराले बताए । बाराहपोखरी गाउँपालिका–१ बराहपोखरीको जिमीगाउँमा पनि खोरेतको समस्या देखा परेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको राजापानीका किसानले पालेका गाईवस्तुमा करिब दुई हप्तादेखि खोरेतको समस्या देखिएको हो । गाईवस्तुमा मुख, गिँजा, जिव्रो, खुट्टामा घाउ आउने, र्याल काढ्ने, र्यालको थोपा बगाउने लगायतका समस्या देखिएको छ । खोरेत नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा, विज्ञ केन्द्र उदयपुरसँगको सहकार्यमा राजापानीका गाईवस्तुलाई फागुन ३ गतेदेखि भ्याक्सिन दिन थालिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।
पशुपन्छी ओसारपसारमा रोक
खोरेतको संक्रमण रोकथामका लागि बाहारापोखरी गाउँपालिकाले पशुपन्छी ओसारपसारमा रोक लगाएको छ । जिमीगाउँ, धाप्लाङ, टप्पु लगायतका ठाउँमा खोरेतको समस्या देखिएको भन्दै गाउँपालिकाले गाई, भैंसी, भेडाबाख्रा तथा सुँगुर बंगुरको ओसारपसार र आवतजावतमा रोक लगाएको हो । खोरेतको उपचार, रोकथाम तथा नियन्त्रणको लागि पशु सेवा शाखामार्फत विरामी पशुको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ ।
खोरेत लागेका गाईवस्तुमा उच्च ज्वरो आउने, र्याल काढ्ने, मुख तथा जिव्रोमा घाउ आउने, खुरमा घाउ आउने, दुध उत्पादनमा कमि आउने, दाना, पानी, घाँस राम्रोसँग नखाने लगायतका समस्या देखिन्छ । यसका लागि नियमित रुपमा फर्म तथा गोठमा चुना फिनेल छर्की जैविक सुरक्षा अवलम्बन गर्ने, अनावश्यक रुपमा अरुको फर्म तथा गोठमा आवतजावत नगर्ने, गोठमा काम गर्दा छुट्टै लत्ता कपडाको प्रयोग गर्ने, अरु समयमा त्यो कपडा प्रयोग नगर्न पशु स्वास्थ्यकर्मीको सुझाव छ ।