मंगलवार, फाल्गुण १ २०८०
नेपाल वाइड
खोटाङ, १ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा निर्माणाधिन खानेपानी योजनाको रिजर्भ ट्यांकीमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् । झाप्री तीनटाट्ने खानेपानी योजनाको निर्माणाधिन १० हजार घनलिटरको निर्माणाधिन रिजर्भ ट्यांकीको फर्मामा आगजानी गरिएको हो । ट्यांकी निर्माणका लागि रड ठड्याएर भित्रबाट गोलो पारेर फर्माकोरुपमा प्रयोग गरिएको पाईपको क्वायल माघ २९ गते राती अज्ञात व्यक्तिले आगो लगाएर जलाएको जलेश्वरीका वडाध्यक्ष भक्तबहादुर तामाङले बताए ।
आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयले ९ लाख ९५ हजार बिनियोजन गरेपछि झाप्री तीनटाट्ने खानेपानी योजनाको काम अघि बढाइएको थियो । तीनटाट्ने भन्ने गाउँका २५–२६ घर उपभोक्ता लाभान्वित हुने आयोजनाका लागि पाईपलाइनसँगै दुई वटा इन्टेक र दुई वटा रिजर्भ ट्यांकी बनाउने स्टीमेट छ । त्यसमध्ये १२ हजार घनलिटरको रिजर्भ ट्यांकी र एउटा इन्टेक निर्माणको काम सम्पन्न भइसकेको छ । एउटा इन्टेक र १० हजार घनलिटरको रिजर्भ ट्यांकी बनाउने क्रममा आगजानी भएको हो । रड र पाईप राखेर ढलानका लागि तयार पारिएको ट्यांकीको फर्मामा रातका समयमा आगजानी गरिएको जानकारी आएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए ।
इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीको टोली मंगलबार घटनास्थल मुचुल्का तयार पारेर फर्किएको छ । आगजनी गर्नेको पहिचान हुन सकेको छैन ।