मंगलवार, फाल्गुण १ २०८०
नेपाल वाइड
खोटाङ, १ फागुन । खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस गुडाएर परीक्षण गरिएको छ । दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा विमानस्थल हुँदै पुरानोगाउँबाट रेग्मीटारमा जोडिने सडकमा सोमबार खोटाङ यातायात प्रालिको दुई वटा बस गुडाएर परीक्षण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले परीक्षणका लागि गुडाइएको बस रिबन काटेर उद्घाटन गरेका थिए ।
दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) सडक कालोपत्रेको काम याक्थुङहाङ/साप/सिरुवा जेभीले गरिरहेको छ । त्यही सडक खण्डको आहालेबाट दिखुवा फेदीसम्मको सडक स्तरोन्नति गरेपछि पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित बस सञ्चालन गर्ने तयारी स्वरुप सडक परीक्षण गरिएको हो ।
सडक परीक्षणका क्रममा दिक्तेलबाट दिखुवा फेदी हिँडेको बस खाल्ले पुग्दा स्थानीयबासीले स्वागत गर्दै नाचगान गरेका थिए ।दिखुवाखोलादेखि राजापानीको पुरानोगाउँसम्मको सडक थ्रिस्टार हाईड्रोपावर कम्पनीले निर्माण गरिसकेको छ ।
आहालेबाट दिखुवादोभानसम्म सडक मर्मत गरेपछि दिक्तेलबाट सिधै हाईड्रोपावर हुँदै राजापानीस्थित सगरमाथा राजमार्गमा पुग्ने बाटो खुलेसँगै बस हिँडाउने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले बताए ।
तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नतिका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ लाख बजेट बिनियोजन गरेको थियो । सडक स्तरोन्ननतीका क्रममा उपभोक्ता समितिले ६ लाख ७९ हजार ७२१ रुपैयाँको श्रमदान गरेका छन् ।
दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले बताए । हाल दिक्तेलबाट महुरे–बुईपा–बिजयखर्क हुँदै रेग्मीटार पुग्नुपर्ने वाध्यता छ । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–बुईपा–बिजयखर्क सडकभन्दा साँढे १७ किलोमिटर छोटो छ ।
हाईड्रोपावरबाट साप्सुखोलाको किनारैकिनार रेग्मीटार जोड्ने सडक निर्माणका लागि चालु आर्थिक वर्ष प्रदेश सरकारबाट ८० लाख बजेट बिनियोजन भएको छ । सो बजेटले घर्तीभीरको चट्टान फोडेर रेग्मीटारबाट हाईड्रोपावरबीचको बाँकी ट्र्याक खोलिने उपमेयर राईले बताए ।