आइतवार, माघ २८ २०८०
नेपाल वाइड
खोटाङ, २८ माघ । खोटाङको बाराहापोखरी गाउँपालिकामा पाँच शैयाको आधारभुत अस्पताल भवन निर्माणको काम शिलान्यासमै सिमित भएको छ । बाराहापोखरी गाउँपालिका–४ फाक्टाङको धर्तुङमा निर्माण हुने आधारभुत अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सिमित भएको हो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालिन प्रधानमन्त्री केपी ओलीले २०७७ मंसिर १५ गते भर्चुअल माध्यमबाट एकैसाथ ५/१० र १५ शैयाको ३०९ वटा अस्पतालको शिलान्यास गरेका थिए । दुई वर्षभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएका त्यही ३०९ वटा आधारभुत अस्पतालको सुचीमा समावेस पालिका स्तरिय अस्पतालको भवन हालसम्म बन्न नसकेको हो ।
धाप्लाङ–धर्तुङ सडक नजिकै आधारभुत अस्पताल निर्माणका लागि गाउँपालिका उपाध्यक्ष भुवलराज राईले निःशुल्क चार रोपनी जग्गा दिएका छन् । अस्पतालका लागि जग्गा जुटाएर भवनको डिपिआर तयार पारेर अर्थमन्त्रालयमा बजेट माग्न जाँदा बजेटको सुनिश्चितता भएपछि मात्रै भवन बन्ने जवाफ आएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । ‘पुर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ । हो न हो, पाँच शैयाको अस्पताल बन्यो भनेर जग्गा जुटाएर घडेरी सम्याएर डिपिआर पास गरेर अर्थमन्त्रालय जान्छौँ त तिमीहरु कहाँ हिँडेका भन्छन् ? होईन हाम्रो पालिकामा पाँच शैयाको अस्पताल शिलान्यास भइसक्या छ, बजेट चाहियो भनेको त पैसाको सुनिश्चितता छैन भन्छ । नहुने कुरो किन बोलेको त भनेको, अव यस्तै छ तपाईकै नेताले बोल्नु भएको, अव हुन्छ भनेर पठाइदियो । हामी उधारो कारोबारमा परेका रहेछौँ । यो मेरो दोष होईन । यो पैसा नभएकै कारण रोकिएको रहेछ ।’
अस्पताल भवन निर्माणका लागि अर्थमन्त्रालयबाट आर्थिक वर्ष २०८०/०८१ मा २० लाख बिनियोजन भएको छ । तर सो २० लाखले ठेक्का खोल्नै नपुग्ने गाउँपालिकाले जनाएको छ । आधारभुत अस्पताल बनाउनका लागि करिब सात/आठ करोडको लागत स्टीमेट आउँछ । बजेट श्रोत सुनिश्चितता भएपछि अस्पतालको भवन बनाउनेगरी गाउँपालिकाले चालु आर्थिक वर्ष १० लाख खर्च गरेर घडेरी सम्याएको छ ।
कार्यपालिकाको निर्णय, जग्गा व्यवस्थापन, डीपीआर तयार, टेन्डर लगायतका प्रक्रिया पूरा नभएका कारण धेरैजसो अस्पताल भवन निर्माणका लागि बिनियोजित बजेट फ्रिज भइरहेका छन् ।