बिहिवार, माघ २५ २०८०
दमन राई
खोटाङ, २५ माघ । माल्टा पठाउने नाममा एजेन्टले १० लाख खाइदियो । ऋण काढेर जम्मा गरेको रकम एजेन्टले डुबाइदिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका मौसम दाहाल त्यही ऋण तिर्न कतार पुगेका छन् ।
माल्टा पठाइदिने भन्दै सोल्मा मुढेका निमादावा शेर्पाले १० लाख डुबाइदिएपछि मौसम फेब्रुअरी २०२३ मा कतार पुगेका हुन् । माल्टा जाने सपनामा साहुबाट काढेको १० लाख ऋण कतारको कमाइले अझै तिरेर नसकिएको आमा सानी दाहाल बताउँछिन् ।
शेर्पाले माल्टा पठाउने भन्दै सोल्माको मौसम सहित उमेश खत्री, चेतनसिं राई सहित तीन युवाबाट किस्ता–किस्तामा कम्तीमा १०/१० लाख पैसा लिएका थिए । उनीहरुले २०७८ भदौ १५ गते अन्तिम किस्ता दिएको कागजातमा देखिन्छ । माल्टा जान श्रम स्वीकृति मिलिसकेको थियो तर एजेन्टले टिकट उपलव्ध गराउन नसक्दा उनीहरुको बैदेसिक रोजगार यात्रामा ब्रेक लाग्यो ।
एजेन्टलाई १० लाख खुवाएकामध्ये उमेश केही महिनाअघि मात्रै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरप्रहरीमा भर्ना भएका छन् । विदेश जाने सपनामा डुबेका चेतनसिं गाउँमै छन् । पैसा लिएका शेर्पा सम्पर्क विहिन भएपछि उमेश, चेतनसिं र मौसमले २०७८ मंसिर १७ गते वैदेसिक रोजगार विभाग र २०७९ बैसाख ४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।
प्रशासन र बैदेसिक रोजगार विभागमा पुगेको सो मुद्धा हालसम्म ‘पेण्डिङ’मा छ । “हामीबाट पैसा लिने व्यक्ति सम्पर्क विहिन भयो । विदेशमै छन् भन्ने सुनिन्छ तर टुंगो छैन,” उमेशले भने, “हामी कानुनी उपचार खोज्दै प्रशासनदेखि वैदेसिक रोजगार विभाग पुगेका छौँ । तर कारबाही भएको छैन ।”
सोल्माकै तालखर्कका प्रेम पुरीले जापान पठाउने भन्दै गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बाबुराम खड्काबाट ६ लाख ५० हजार लिए । तर बाबुराम न जापान जान पाए, न पुरीबाट पैसा नै फिर्ता पाए । हाल बेलबारी–४ बसाइसरेका पुरीले दुबई पठाउने भन्दै सन् २०१९ मा दिक्तेलका इन्द्रबहादुर खड्का (माईकल), कर्णबहादुर खड्का, राजेन्द्र खड्का, डिल्लीबहादुर खत्रीबाट जनही ५० हजार र सोम भण्डारीबाट ३५ हजार लिएर ठगेका थिए ।
पुरी निजामती कर्मचारी थिए । भ्रष्टाचार मुद्धामा पुरी काठमाडौं जेलमा परेपछि पाँचै जना पैसा फिर्ता माग्दै जेल पुगेका थिए । पुरीले जेलबाट निस्केपछि ‘पैसा फिर्ता दिने’ वचन दिएपछि उनीहरु फर्केका थिए । तर जेलबाट निस्किने वित्तिकै पुरीले जापान पठाउने नाममा बाबुरामलाई ठगेको निवेदन आएको आप्रवासी श्रोतकेन्द्र, दिक्तेलका परामर्शकर्ता लिला निरौला बताउँछिन् ।
यद्यपी, पुरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले माघ २१ गते भक्तपुरबाट पक्राउ गरिसकेको छ । पुरी बिरुद्ध माघ १७ गते निवेदन परेको थियो । ठगिएपछि इन्द्रबहादुर यातायात व्यवसायमा लागे भने राजेन्द्र डिभिजन वन कार्यालयमा करारमा कार्यालय सहयोगीको काम सुरु गरे । कर्णबहादुर, सोम र डिल्लीबहादुर पुःन अर्को एजेन्टमार्फत विदेसिए । डिल्लीबहादुर हाल विदेशमै छन् । ठगिएका इन्द्रबहादुर र कर्णबहादुर एकाघरका दाजुभाई हुन् ।
यस्तै, सोल्मा हर्कपुरका चित्रकुमार खतिवडाले दुबईमा आकर्षक तलवमा काम दिने भन्दै फेसबुकमा राखिएको प्रचार सामग्री भेटे । फेसबुकमै सोधखोज गर्दै जाँदा दुबईमा रहेर विज्ञापन गर्ने प्रकाश देबकोटा र यादव स्याङ्जालीसँग सम्पर्क भयो । देबकोटा र स्याङ्जालीले भने अनुसार खतिवडाले भिजिट भिसामा दुबई जानका लागि सामाखुसीको एक मेडिकलमा स्वास्थ्य परीक्षण गराए ।
काठमाडौंमा रहेका आशिष श्रेष्ठको नाममा गत भदौ १८ गते १ लाख ५० हजार र मनोजकुमार ताम्राकारको नाममा भदौ १५ गते ९५ हजार पठाइदिए । केही समयपछि फेसबुकपछि उनीहरुबिच इमोमा पनि सम्वाद भयो । तर पैसा दिएपछि भने देबकोटा र स्याङ्जालीले खतिवडालाई फेसबुक र इमोमा ‘ब्लक’ गरे । उनीहरु सम्पर्क विहिन भए । ठगिएका खतिवडाले गत मंसिर १० गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताउँछन् । “मेडिकलमा पनि फिट भएँ । भिसा आयो, फ्लाइट बुकिङ गर्न पैसा देउ भन्यो,” खतिवडाले भने, “पैसा दिएपछि मलाई ब्लक ग¥यो । त्यसपछि सम्पर्क हुनै सकेको छैन ।”
हाल दुबईमा रहेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी सिर्जना खड्कामार्फत भिजिट भिसामा सोही ठाउँका सबिन्द्र राई, कृष्ण खड्का र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका राजन कठेत दुबई पुगे ।
सिर्जनाले ‘काम लगाइदिन्छु’ भन्दै भिजिट भिसामा दुबई बोलाए पनि काम लगाउन नसकेपछि तीनै जना फर्काइएका छन् । गत भदौमा जनही २ लाख ५० हजार बुझाएर दुबई पुगेका उनीहरु एक साता चक्लेट फ्याक्ट्रीमा काम गरे तर त्यस वापत पैसा पाएनन् । भिजिट भिसालाई वर्किङ भिसा बनाउन नसक्दा उनीहरु स्वदेश फर्काइएका हुन् । तर एजेन्ट नजिकको आफन्त पर्ने भएकाले पिडितलाई कानुनी उपचारमा जान असहज मानिरहेको परामर्शकर्ता निरौला बताउँछिन् ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका अनुसार २०७७ सालदेखि चालु आर्थिक वर्षसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर वर्षौँसम्म विदेश नपठाएको र पैसा पनि फिर्ता नदिएको’ भन्दै ४६ जनाको उजुरी परेको छ । ४६ जनाबाट मेनपावर र एजेन्टले १ करोड ५ लाख १३ हजार ठगी गरेको उजुरी परेको सामीका संयोजक सन्तोष राई बताउँछन् ।
प्राप्त उजुरीका सामीको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेसिक रोजगार विभागको पहलमा हालसम्म मेनपावर र एजेन्टबाट सम्वन्धित व्यक्तिले १० लाख ६८ हजार फिर्ता पाएका छन् ।
“वैदेसिक रोजगार सम्वन्धी ठगिमा पिडितहरुसँग आवश्यक प्रमाण नहुनु, ठगि गर्नेहरु जिल्ला वाहिरका हुनु जस्ता कारणले पिडित न्यायबाट बञ्चित छन्,” राईले भने, “वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोवार सकेसम्म वैंकिंङ माध्ययबाट गरी प्रयोजनमा वैदेशिक रोजगार उल्लेख गरियो भने ठगिएको पैसा फिर्ता लिन सजिलो हुन्छ ।” सामीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा खोटाङबाट ९ हजार ८०६ जना विदेश गएका छन् । चालु आर्थिक वर्ष मात्रै ४ हजार १६६ जनाले श्रम स्वीकृति लिइसकेका छन् ।