Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विदेश पठाउने भन्दै ठगी गर्ने प्रेम पुरी पक्राउ

    विदेश पठाउने भन्दै ठगी गर्ने प्रेम पुरी पक्राउ


    • सोमवार, माघ २२ २०८०

    • नेपाल वाइड


    विदेश पठाउने भन्दै ठगी गर्ने प्रेम पुरी पक्राउ

    खोटाङ, २२ माघ । विदेश पठाउने नाममा ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विदेश पठाउने भन्दै पैसा लिएको तर विदेश नपठाएको भन्दै पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्क ठेगाना भइ हाल मोरङको बेलबारी नगरपालिका–२ बस्ने ३३ वर्षीय प्रेम पुरीलाई पक्राउ गरेको हो ।

    ठगीमा परेका पिडितले लिएको जाहेरीका आधारमा पुरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी सहायक निरिक्षक सब्जब बस्नेतले माघ २१ गते भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोटबाट पक्राउ गरेको हो । पुरीलाई जिल्ला अदालत खोटाङबाट पक्राउ परेकै मितिदेखि लागु हुनेगरी ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए । पुरीले विदेश पठाउने भन्दै ६ जनाबाट ८ लाख ९५ हजार ठगी गरेको जाहेरीमा उल्लेख छ ।

    पुरीले गत वर्ष जापान पठाउने भन्दै दिक्तेलका बाबुराम खड्काबाट ६ लाख ५० हजार लिएका थिए । यस्तै दुबई पठाउने नाममा सन् २०१९ मा दिक्तेलका इन्द्रबहादुर खड्का (माईकल), कर्णबहादुर खड्का, राजेन्द्र खड्का, डिल्लीबहादुर खत्रीबाट जनही ५० हजार र सोम भण्डारीबाट ३५ हजार लिएर ठगेको प्रहरीले जनाएको छ ।

    पुरी निजामती कर्मचारी थिए । भ्रष्टाचार मुद्धामा पुरी काठमाडौं जेलमा परेपछि पाँच जना पैसा फिर्ता माग्दै जेल पुगेका थिए । पुरीले जेलबाट निस्केपछि ‘पैसा फिर्ता दिने’ वचन दिएपछि उनीहरु फर्केका थिए । तर जेलबाट निस्किने वित्तिकै पुरीले जापान पठाउने नाममा बाबुरामलाई ठगेको निवेदन आएको आप्रवासी श्रोतकेन्द्र, दिक्तेलका परामर्शकर्ता लिला निरौला बताउँछिन् । ठगी गरेपछि फरक–फरक नम्बर चलाउने, फोन रिसिभ नगर्ने, मेसेजको रिप्लाई नफर्काउने गतिविधि गर्न थालेपछि पिडितले पुरी बिरुद्ध माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

    ठगिमा परेकामध्ये इन्द्रबहादुर यातायात व्यवसायमा लागे भने राजेन्द्र डिभिजन वन कार्यालयमा करारमा कार्यालय सहयोगीको काम सुरु गरेका थिए । कर्णबहादुर, सोम र डिल्लीबहादुर पुःन अर्को एजेन्टमार्फत विदेसिएका थिए । डिल्लीबहादुर हाल विदेशमै छन् । ठगिएका इन्द्रबहादुर र कर्णबहादुर एकाघरका दाजुभाई हुन् । 

    सम्बन्धित समाचार