बिहिवार, माघ १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ माघ । नेपाल सरकारले लागु गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यन्वयन हुन नसकेको खोटाङमा आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । सरकारले २०७२ असारदेखि मलेसिया सहित खाडी मुलुक जानका लागि १० हजार लागत लाग्ने नीति कार्यान्वयन गर्ने घोषणा गरे पनि मेनपावर र एजेन्टलाई लाखौं रकम बुझाउनुपर्ने वाध्यता कायम रहेको बताएका छन् ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले बिहिबार दिक्तेलमा आयोजना गरेको जिल्लामा वैदेसिक रोजगारको पछिल्लो अवस्था सहित सुरक्षित आप्रवासन सम्वन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मलेसिया सहित खाडी मुलुक जानेक्रममा तीन लाख ५० हजारसम्म बुझाउनुपर्ने वाध्यता यथावत रहेको गुनासो गरेका छन् ।
विदेश जानका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा आप्रवासी श्रोत केन्द्रबाट सेवा लिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका २ हजार ९१६ जनामध्ये २९० जनालाई फलोअप गर्दा दुई जनाले मात्रै ‘फ्री भिसा फ्री टिकट’को सुविधा लिएर विदेश गएको पाइएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले बताए ।
‘चालु आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ हजार ९१६ जनाले सेवा लिएका छन्,’ संयोजक राईले भने, ‘नमूनाको रुपमा त्यसको १० प्रतिशतलाई फोनबाट फलोअप गर्दा ३२ जना बिदेश गएका रहेछन् । त्यसमध्ये दुई जना मात्रै फ्री भिसा फ्री टिकटमा विदेश गएको पाइएको छ ।’
फलोअप गरिएकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १९ जना सीप सिकेर विदेश गएको, २९ जनाले महत्वपूर्ण कागजातको फोटोकपी घरमा छाडेको, ६ जनाले तिरेको रकम बराबरको भपाई वा रसिद लिएको पाइएको छ । यस्तै, ९० जना युवा विदेश नजाने निर्णयमा पुगेको, २० जनाले नेपालमै स्वरोजगारको बाटो अपनाएको, ८८ जना विदेश जाने तयारीमा रहेको र ७ जना विदेश जान असफल भएको जानकारी दिइएको छ ।
‘फ्री भिसा फ्री टिकट’ अनुसार मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जानका लागि मेनपावरलाई १० हजार तिरे पुग्छ । तर अहिले पनि मेनपावर र एजेन्टले लाखौं रकम लिएर मात्रै मलेसिया सहित खाडी मुलुक पठाउने गरेका छन् ।
मेनपावर सञ्चालक वा एजेन्टले बढी पैसा लिए पनि १० हजार लिएको कागज लिने गरेको हेल्भेटास/सामीका कार्यक्रम अधिकृत उमा पौडेलले बताईन् । मेनपावर वा एजेन्टले सकेसम्म बढि पैसा लिएको पूष्टि हुने प्रमाण नजुट्ने विधि अपनाएर मात्रै पैसा लिने गरेका छन् । विदेश जाने हुटहुटीमा ऋण काढेका युवा मेनपावरलाई बढि पैसा दिए पनि कम लागतको बिल वा भर्पाई लिन वाध्य हुने गरेको पाइएको छ ।
विदेश जाने युवाले अझै पनि एजेन्टकै बिश्वास गर्ने गरेको पाइएको छ । विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरको हुँदा ठगी बापतको रकम फिर्ता गराउन समस्या भइरहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले जनाएको छ । बैदेसिक रोजगारका क्षेत्रमा उत्पादन मुलक क्षेत्रमा बिप्रेषणको लगानी नहुनु, बैदेसिक रोजगारको प्रक्रियामा रहेका ब्यक्तिहरु प्रायः जिल्ला वाहिर रहनु लगायतका चुनौती देखिएको सामीका संयोजक राईले जानकारी दिए ।