बुधवार, माघ १७ २०८०
नेपाल वाइड
काठमाडौं, १७ माघ । खेलकुद तथा पर्यटन प्रवर्द्धनको नारासहित सोलुखुम्बुमा सर्वाधिक राशीको महिला तथा पुरुष ‘विश्व शान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ प्रतियोगीता गर्ने घोषणा गरिएको छ । मुन स्टार क्लबले बुधवार रिपोर्टस क्लब, काठमाडौंमा पत्रकार सम्मेलन गरेर सर्वाधिक राशीको महिला र पुरुषतर्फको ट्रेल म्याराथन प्रतियोगीता गर्ने घोषणा गरेको हो ।
क्लबको वार्षिकोत्सवको अवसर पारेर आगामी कात्तिक ५ गते करिब ४३ किलोमिटर दूरीको ट्रेल म्याराथन प्रतियोगीता गर्न लागिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्रबहादुर राईले जानकारी दिए ।
सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीदेखि सुरु हुने म्याराथन माप्य दुधकोशी गाउँपालिका–२ बासाखाली मावि, खालीडाँडा पुगेर विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण गर्दै समापन गर्ने तयारी गरिएको छ । सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गर्न लागिएको हो ।
महिला तथा पुरुष ट्रेल म्याराथनका शीर्ष तीन विजेतालाई छुट्टाछुट्टै क्रमशः ३ लाख, २ लाख र १ लाख नगद, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने क्लबका अध्यक्ष भुवनसिं राईले जानकारी दिए । उक्त पुरस्कार राशी नेपालको ट्रेल म्याराथनको इतिहासमा सबैभन्दा ठूलो मानिएको छ । प्रतियोगीतामा महिला र पुरुषतर्फ शान्त्वना स्थान प्राप्त गर्ने ५/५ जना धावकलाई जनही ५/५ हजार नगद र प्रमाण–पत्र प्रदान गरिनेछ । प्रतियोगीतामा १६ वर्षमाथिका स्वदेशी तथा विदेशी महिला/पुरुष धावक सहभागी हुन पाउने छन् ।
यस्तै, कात्तिक ५ गते नै स्थानीय खेलाडीलाई विशेष प्रोत्साहन गर्ने ध्येयले महिला/पुरुष ‘मातृभूमि म्याराथन’को समेत आयोजना गर्ने तयारी गरिएको छ । खुम्बु पासाङल्हमू गाउँपालिका–१ खरिखोलादेखि सुरु हुने उक्त म्याराथन जुभिङ हुँदै खालीडाँडाँसम्म २१ किलोमिटरको हुने मुन स्टार क्लबका सचिव पूर्ण राईले बताए । महिला र पुरुषतर्फको ‘मातृभूमि म्याराथन’ विजेतालाई छुट्टाछुट्टै जनही २० हजार, १५ हजार र १० हजारका साथमा प्रमाण–पत्र प्रदान गर्ने जानकारी दिइएको छ ।
सो प्रतिस्पर्धामा शान्त्वना स्थान प्राप्त गर्ने महिला र पुरुषतर्फका १/१ जना धावकलाई जनही ५/५ हजार नगद र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय धावक अर्जुन कुलुङले अन्तर्राष्ट्रिय ट्रेल म्याराथनले खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने दावी गरे ।