मंगलवार, माघ १६ २०८०
नेपाल वाइड
खोटाङ, १६ माघ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एकीकृत घुम्ती शिबिरमार्फत पाँच सय सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । माघ ७ गतेदेखि माघ १४ गतेसम्म सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरमार्फत ५०१ जनाको स्वास्थ्य जाँच गर्नुका साथै परामर्श तथा सामान्य औषधि वितरण गरिएको हो ।
‘हेल्लो डाक्टर’ कार्यक्रम अन्तरगत दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका १०१, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६८, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका ५३, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ११०, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका ११६, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ८५, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ४५ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
सामान्य स्वास्थ्य समस्यका लागि अन्यत्र जान नसक्ने सर्वसाधारणलाई लक्ष्यित गर्दै शिबिरमार्फत स्वास्थ्य जाँचको प्रवन्ध मिलाइएको ‘हेल्लो डाक्टर’ कार्यक्रमका संयोजक अहेव सुरेश प्रधानले बताए । शिबिरमा नेबुलाइजेसन (वाफ लगाउने), सुगर, ब्लड प्रेसर जाँच, अक्सिजनको मात्रा, नाडीको गति चेकजाँचका साथै सामान्य औषधि वितरण गरिएको छ ।
चालु आर्थिक २०८०/०८१ को दोश्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य जाँच सेवालागि सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा र हेल्लो डाक्टर कार्यक्रममार्फत एकीकृत घुम्ती शिबिर सञ्चालन गरिएको हो । शिबिरमार्फत ९२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा प्रमुख यमनलाल श्रेष्ठले बताए ।