खोटाङ, १४ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले चेक बाउन्स मुद्धामा थप अर्को निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । चेक बाउन्समा उदयपुरको त्रियुगा नगरपालिका–७ गाईघाट घर भइ हाल काठमाडौं महानगरपालिका–७ बस्ने मोहनकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
पैसा नभएको खाताको चेक काटेर ‘बेइमानी’ गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका युवराज बस्नेतले दिएको उजुरीका आधारमा खत्रीलाई माघ ११ गते नवलपरासीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी हवल्दार कैलास लिम्बु र प्रहरी सहायक हवल्दार सुशिल श्रेष्ठले ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) सँगको समन्वयमा खत्रीलाई सुनवल नगरपालिका–१२ भुमहीबाट पक्राउ गरेको हुन् ।
खत्रीले बस्नेतलाई गत भदौ ५ गते ४ लाख २० हजारको चेक दिएको तर बैंकमा साट्न जाँदा रकम नभएपछि बस्नेतले माघ ८ गते खत्री बिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
खत्रीलाई माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा ल्याएर बैंकिङ कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सोही मुद्धामा उनका छोरा कल्याण खत्रीलाई प्रहरीले माघ ९ गते काठमाडौं महानगरपालिका–७ रातोपुलबाट पक्राउ गरेको थियो ।
बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका खत्री बाबुछोरा राम्चे निर्माण सेवाका सञ्चालक हुन् । जिल्ला प्रहरी कार्यालयले माघ १३ गते सामाजिक सञ्जालमार्फत खत्रीद्धयले अन्य कुनै व्यक्तिलाई ठगी गरेको प्रमाणजन्य कागजात भए तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ ।