खोटाङ, १३ माघ । रोजगारीका सिलसिलामा यूएई (दुबई) पुगेका एक नेपालीको मृत्यु भएको छ । सम्पत्ती कमाएर ल्याउने सपना बोकेर यूएई पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पा लुम्दुका ३८ वर्षीय भिमबहादुर राईको मृत्यु भएको हो ।
गत डिसेम्बर १७ तारिखमा कोठामा लडेर गम्भी घाइते भएका राईको उपचारका क्रममा डिसेम्बर ३० तारिखमा मृत्यु भएको यूएईमा रहेका हिराधन चाम्लिङले जानकारी दिए ।
लडेका कारण टाउकोमा चोट लागेपछि घाईते राईलाई साथीहरुले उपचारका लागि अल धाइद हस्पिटल, सारजाह पुर्याएका थिए । डिसेम्बर २७ तारिखमा राईको डिस्चार्जको तयारी भइरहेको थियो तर टाउकोमा लागेको चोटको अवस्था जटिल देखिएपछि डिसेम्बर २८ तारिखमा अप्रेसन गरिएको थियो ।
अप्रेशन सफल नभएपछि राईको मृत्यु भएको परिवारलाई जानकारी दिएको चाम्लिङले बताए । भीमबहादुर इलेक्ट्रिसियनको कामका लागि अक्वालन कन्स्ट्रक्सनमा पुगेका थिए । राईको शव शनिबार किरात राई सरोकार समिति युएईका संयोजक नविन थुलुङ र चाम्लिङको समन्वयमा यूएईबाट नेपाल ल्याइएको छ ।