खोटाङ, ८ माघ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वडा–वडामा प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिर सुरु गरेको छ । फिस्टुला, आङ खस्ने समस्याको उपचार, पाठेघरको मुखको क्यान्सर जाँच तथा परिवार नियोजन सेवाका लागि गाउँपालिकाको उपाध्यक्षसँग न्यायिक समिति तथा महिला विकास कार्यक्रम अन्तर्गत वडा–वडामा प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिर सुरु गरिएको हो ।
पाठेघरको समस्या भएका महिलाको पहिचान गरेर उपचार व्यवस्था मिलाउने तथा पाठेघरको समस्या हुन नदिन सचेत गराउने लक्ष्यका साथ वडा–वडामा प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिर आयोजना गरिएको गाउँपालिकाकी सहायक महिला विकास निरिक्षक ओमसरा राईले बताईन् ।
गाउँपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाको आयोजनामा आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाबाट सुरु गरिएको शिबिर आगामी माघ १५ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु पुगेर समापन हुनेछ ।
स्वास्थ्यचौकी याम्खामा आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिरमा ६४ जनाको स्कृनिङ तथा पाठेघरको मुखको जाँच गरिएको छ । स्क्रीनिङ गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको सहायक महिला विकास निरिक्षक राईले बताईन् । परिक्षणका क्रममा पाठेघरको समस्या भएका १३ जनाको शरीरमा रिङ प्रेसरी राखिएको छ । दुई जनालाई उपचारकालागि रेफर गरिएको छ ।
माघ ८ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ, माघ ९ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा, माघ ११ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे, माघ १३ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, माघ १४ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र माघ १५ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु स्वास्थ्यचौकीमा प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिर आयोजना गरिएको छ ।
शिबिरमार्फत रेफर गरिएका सबै बिरामीको उपचार व्यवस्था गाउँपालिकाले निःशुल्क मिलाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले बताए । शिबिरमा कर्भिकल क्यान्सर स्क्रीनिङ एण्ड प्रेभेन्सन (सिसिएसपी) तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत स्क्रीनिङको व्यवस्था मिलाइएको छ ।