Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका चार पालिकामा वन ऐन सम्वन्धी छलफल

    खोटाङका चार पालिकामा वन ऐन सम्वन्धी छलफल


    • शनिवार, माघ ६ २०८०

    • नेपाल वाइड


    खोटाङका चार पालिकामा वन ऐन सम्वन्धी छलफल
    वन सम्वन्धी ऐन, कानुन तथा नीति नियम सम्वन्धी छलफल कार्यक्रम ।

    खोटाङ, ६ माघ । सामुदायीक वन उपभोक्ता महासंघ खोटाङले चार पालिकामा वन सम्वन्धी ऐन, कानुन तथा नीति नियम सम्वन्धी छलफल कार्यक्रम गरेको छ । स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालालाई वन ऐनका बारेमा स्पष्ट पार्ने उद्धेश्यले सामुदायीक वन उभोक्ता महासंघले हलेसी तुवाचुङ नगरपालिकामा माघ ३ गते, ऐसेलुखर्क गाउँपालिकामा माघ ४ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा माघ ५ गते र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा माघ ६ गते कार्यक्रम गरेको हो ।

    वन क्षेत्रमा भौतिक विकास गर्ने क्रममा डिभिजन वन कार्यालय र स्थानीय तहबीचमा देखा परिरहेको मतभेद हल गर्ने लक्ष्यका साथ सामुदायीक वन उपभोक्ता महासंघले डिभिजन वन कार्यालयसँगकै सहकार्यमा विभिन्न पालिकाका जनप्रतिनिधि र सरोकारवालालाई राखेर छलफल कार्यक्रम आयोजना गरेको हो ।

    बराहपोखरी गाउँपालिकामा माघ ७ गते वन सम्वन्धी ऐन, कानुन तथा नीति नियमहरु सम्वन्धी छलफल राखिएको सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य राजेन्द्र राईले बताए ।

    पालिका प्रमुख र उपप्रमुख, वडाध्यक्ष लगायतलाई नेपालको वनको अवस्था, वनको संरक्षण तथा ब्यवस्थापनका लागि सरकारले गरेका पछिल्ला प्रयासहरु, वन सम्वन्धि संवैधानिक अधिकार, स्थानीय सरकार संचालन ऐन २०७४ दफा १०२, संघीय वन ऐनमा रहेका केही मूलभुत प्रावधानहरु लगायतका बारेमा जानकारी दिने लक्ष्यका साथ छलफल कार्यक्रम आयोजना गरिएको हो । छलफल कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ कोसी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाले सहजीकरण गरिरहेका छन् ।

    ew.jpg

    जनप्रतिनिधिलाई वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्वन्धी गाउँपालिका र नगरपालिकाको काम, कर्तव्य र अधिकार तथा स्थानीय तहले प्रयोग गर्न पाउने वन तथा वातावरण सम्वन्धी एकल अधिकारका बारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।

    यस्तै, स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए अनुसार जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, संघ र प्रदेशसँगको सहकार्यमा र संघ तथा प्रदेश कानुनको अधिनमा रही स्थानीय तहले प्रयोग गर्न पाउने वन सम्वन्धी साझा अधिकार लगायतका बारेमा जानकारी दिइएको छ ।

    वन ऐनको विषयमा स्पष्ट नहुँदा सडक, नहर जस्ता संरचना निर्माणका क्रममा डिभिजन वन कार्यालय र स्थानीय तहबीचमा बेला बेला तनाव सिर्जना हुने गरेको छ । आगामी दिनमा डिभिजन वन र स्थानीय तहबीचमा त्यस्ता असमझदारी आउन नदिनका लागि वन सम्वन्धी ऐन, कानुन तथा नीति नियमहरु सम्वन्धी छलफल कार्यक्रम राखिएको हो ।

    वन ऐन बुझाएर स्थानीय तहलाई बलियो बनाउने लक्ष्यका साथ अभियानका रुपमा कार्यक्रम आयोजना गरिएको महासंघका केन्द्रीय सदस्य राईले बताए । 

    अभियानका दौरान डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहाल, महासंघका केन्द्रीय सदस्य राई, महासंघकै केन्द्रीय सदस्य सम्बर भुजेल, महासंघका प्रदेश सचिव सुर्यबिक्रम राई, प्रदेश सदस्य दिर्घबहादुर मगर, महासंघका भोजपुर अध्यक्ष टेकबहादुर थापा, खोटाङ अध्यक्ष मोहन गुरुङ, पुर्वअध्यक्ष सुर्यबहादुर राई, महासंघका जिल्ला सचिव युगसन किरात लगायतको टोली विभिन्न पालिका पुगेका छन् ।

    केही समयपछि केपिलासगढी गाउँपालिकामा पनि कार्यक्रम गर्ने तयारी भइरहेको छ । ऐसेलुखर्कमा वन महासंघको भवन उद्घाटन ऐसेलुखर्क गाउँपालिकामा वन सम्वन्धी ऐन, कानुन तथा नीति नियमहरु सम्वन्धी छलफलकै अवसरमा सामुदायीक वन उपभोक्ता महासंघको पालिका समितिको भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले महासंघको भवन उद्घाटन गरेका हुन् ।

    सम्बन्धित समाचार