Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वडा–वडा पुगेर अशक्तलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गाउँपालिका

    वडा–वडा पुगेर अशक्तलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गाउँपालिका


    • बिहिवार, माघ ४ २०८०

    • नेपाल वाइड


    वडा–वडा पुगेर अशक्तलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गाउँपालिका
    रतन्छामा अशक्तलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गाउँपालिकाका कर्मचारी ।

    खोटाङ, ४ माघ । खोटाङको साकेला गाउँपालिकाले वडा–वडा पुगेर वृद्धबृद्धा र अशक्तलाई सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म पुगेर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गर्दै गाउँपालिकाले नेपाल एसबिआई बैंकसँगको सहकार्यमा वडा वडा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो ।

    पाँच वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिक वापतको सामाजिक सुरक्षाभत्ता बुझ्ने वृद्धबृद्धा र शारीरिक अपांगता भएका लाभग्राही एक हजार ३३७ जना रहेको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङले बताए ।

    ज्येष्ठ नागरिकले जनही मासिक चार हजार सामाजिक सुरक्षाभत्ता पाउँदैआएका छन् । ‘क’ वर्गको अपंगता भएका लाभग्राहीले मासिक तीन हजार ९९० र ‘क’ वर्गको अपंगता भएका लाभग्राहीले मासिक दुई हजार १२८ रुपैयाँ भत्ता पाउँछन् ।

    विधवा, एकल महिला र ज्येष्ठ दलितले मासिक दुई हजार ६३० रुपैयाँ भत्ता पाइरहेका छन् । हिँडेर बैंकसम्म पुग्न सक्ने लाभग्राहीले भने आफै बैंक पुगेर सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन् ।

    शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने लाभग्राहीको सहजताकालागि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकबाट वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ ।

    माघ २ गतेदेखि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाबाट सुरु गरिएको भुक्तानी शिबिर माघ ९ गते साकेला गाउँपालिका–४ मात्तिममा पुगेर टुंगिने छ । सुरुको दिन बाँझेच्यानडाँडाका ८२ जना लाभग्राहीलाई नौ लाख ७३ हजार भत्ता वितरण गरिएको छ ।

    यस्तै, माघ ३ गते बाँझेच्यानडाँडाकै डाँडागाउँमा ६८ जनालाई छ लाख ९८ हजार भत्ता बाँडिएको पञ्जीकरण शाखा प्रमुख चाम्लिङले बताए । माघ ४ गते साकेला गाउँपालिका–२ रतन्छाका ३०३ लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ ।

    टाढा–टाढाका वडाबासी जेष्ठ नागरिकलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक रुपमा कष्टकर र झण्झटिलो देखिएपछि घरपायकमा शिविर राखेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

    सम्बन्धित समाचार