आइतवार, पौष २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छ बुँदे उपलव्धी सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले योजना सम्झौता र फरफराकमा नयाँ अभ्यास सुरु गरेको, सामुदायीक विद्यालयको गुणस्तर सुधारका लागि शैक्षिक वहस आयोजना गरेको, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीका क्रममा तयार पारिएका चित्र प्रदर्शनीको मिति तोकिएको लगायतका उपलव्धी बारे जानकारी दिएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर तीर्थराज भट्टराईले कोरिया भ्रमण र भएका निर्णय, पटक–पटकको दवावपछि अस्पतालचोक–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम सुचारु गराइएको र बेलायतबासी बाम्राङ्गे, बाम्राङबासी, वडा कार्यालय र नगरपालिकाको सहभागीतामा सडक स्तरोन्नतीको काम भइरहेको जानकारी दिए ।
नगरपालिकाले चालु आर्थिक वर्षदेखि योजना सञ्चालन गर्ने क्रममा कागजातको रेकर्ड फायल तयार पारेर नगरपालिकाको कोठा–कोठा चाहार्नुपर्ने वाध्यताबाट उपभोक्ता समितिलाई उन्मुक्ती दिने लक्ष्यका साथ योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याइएको जानकारी दिएको छ ।
उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाका लागि नगरपालिकाले उपभोक्ता समिति गठनदेखि फरफारकसम्मको कागजात संग्रहित गरिएको योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको हो ।
६३ पृष्ठको योजना कार्यान्वयन पुस्तिकामा योजना सञ्चालनका क्रममा तयार पार्नुपर्ने र प्रयोग हुने सम्पूर्ण कागजात संग्रहित गरिएको छ । कागजी फायल बोकेर नगरको योजना शाखा, मेयर, प्रमुख प्रशासकीय अधिकृत हुँदै लेखा अधिकृत समक्ष धाउनुपर्ने वाध्यता हन्त्याका लागि योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको मेयर भट्टराईले जानकारी दिए ।
यस्तै, पुस २२ गते आयोजना गरिएको शैक्षिक बहसका माध्यमबाट प्राप्त सुझावलाई समेटेर थप योजना र दृष्टिकोण सहित शैक्षिक सुधारमा अघि बढ्ने जानकारी दिइएको छ ।
पुस २७ गते बसेको नगरपालिकाको बैठकले गत असोज १७ गतेदेखि असोज २१ गतेसम्म आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीमा सहभागी १४ देशका चित्रकारले बनाएको चित्रलाई आगामी फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म काठमाडौंको आर्ट काउन्सिलमा प्रदर्शनीमा राख्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए ।
मेयर भट्टराईका अनुसार गत मंसिर १७ गतेदेखि पुस ३ गतेसम्मको दक्षिण कोरिया भ्रमणका क्रममा नोङघ्युप यूनिभर्सिटी र शिन अन्सान यूनिभर्सिटीसँग शैक्षिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग आदान प्रदान गर्ने, नगरपालिकाबाट उच्च शिक्षा अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीलाई कोरिया जाने वातावरण बनाउने लगायतका सम्झौता गरिएको छ ।
पत्रकार सम्मेलनमा कम्पोष्ट मल प्लान्ट, पेन टावर, चिस्यान केन्द्र (बुईपा), रेन्बो ट्राउट रेस–वे (नेर्पा)को उपलव्धी लगायतका विषयमा प्रश्न उठेको थियो । पत्रकार सम्मेलनमा उपमेयर बिसन राई, वडाध्यक्ष, नगर कार्यपालिका सदस्यको उपस्थिति रहेको थियो ।