आइतवार, पौष २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सामातुङ–पाँचगरे सडक स्तरोन्नतीका लागि थप सहयोग रकम प्राप्त भएको छ । बाम्राङको सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पुर्वलाहुरे तथा उनीहरुका परिवारको आर्थिक सहयोगमा स्तरोन्तती सुरु गरिएको सडकका लागि थप ४ लाख ६ हजार ९०८ रुपैयाँ प्राप्त भएको हो ।
हाल युकेमा रहेका २७ जना सामातुङ्गेबाट प्राप्त भएको १६ लाख ७७ हजार, नगरपालिकाको १० लाख र वडा कार्यालय बाम्राङले दिएको दुई लाख ५० हजारमा गत पुस १० गतेदेखि सडक स्तरोन्नतीको काम सुरु गरिएको हो ।
सडक स्तरोन्नतीका क्रममा सामातुङ र थापागाउँका ७९ घर स्थानीयले कम्तीमा १०/१० दिन श्रमदान गरिरहेका छन् । सडक स्तरोन्ततीको काम चलिरहेका बेला पुःन युके, साउदीअरब, धरान र मोरङमा रहेका सात सामातुङबासीबाट २ लाख ८५ हजार र गाउँमै रहेका स्थानीयबाट १ लाख २१ हजार ९०८ रुपैयाँ सहयोग प्राप्त भएको श्रम समितिका सहसंयोजक राजेन्द्र राईले बताए ।
थप भएको रकम आइतबार मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले श्रम समितिका आर्थिक व्यवस्थापक सन्तकुमार राईलाई हस्तान्तरण गरेका थिए । युके लाहुरे परिवारको आर्थिक सहयोगमा गाउँको सडक स्तरोन्नतीमा जुटेको बाम्राङबासीलाई नगरपालिका र वडा कार्यालयले पनि बजेट दिएको हो ।
प्राप्त भएको रकमबाट डोजर र स्काभेटरमा तेल हाल्ने, सोलिङ गर्ने, सोलिङ गर्न नमिल्ने हिलाम्मे ठाउँमा कजवे निर्माण गर्ने लगायतका काम भइरहेको छ । चार किलोमिटरमध्ये हालसम्म साँढे दुई किलोमिटर सडक स्तरोन्नती गरिसकिएको छ ।
सडकलाई वर्षाको भलपानीबाट जोगाउनका लागि कुनामा ड्रेन खनिएको छ । सडक स्तरोन्नतीको काममा दैनिक २० देखि २५ घरले श्रमदान गरिरहेको श्रम समितिका संयोजक ललितकुमार राईले बताए । हालसम्म साँढे दुई किलोमिटर काम भइसकेको छ ।
सडक स्तरोन्नतीका क्रममा पैसा बाँकी रहे समितिको खातामा राखेर वर्षामा मर्मतका खर्च गर्ने योजना बनाइएको छ । आफ्नो जन्मथलोको सडक स्तरोन्नतीका लागि पुर्वयुके लाहुरे कुमार राईको पहलमा युके लाहुरे परिवारबाट सहयोग रकम संकलन गरिएको हो ।



