शनिवार, पौष २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना’ कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउन्डेसनको सहकार्यमा आगामी माघ १ गतेदेखि २०८३ पुस मसान्तसम्म ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना’ कार्यक्रम सञ्चालन हुने भएको हो ।
तीन वर्षे कार्यक्रमका लागि शनिबार जिल्ला समन्वय समितिको सभाहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र करुणा फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरेबीचमा सम्झौता गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका नगरपालिकामा करूणा फाउण्डेसनको लागत साझेदारीमा ‘अपाङ्गता रोकथाम तथा पुनःस्र्थापना’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयनका लागि दुवै पक्षबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, प्रदेश समितिसँग आवश्यक समन्वय र सहकार्य गर्ने सम्झौता–पत्रमा उल्लेख छ ।

यस्तै, अपाङ्गता भएका व्यक्तिहरूको संस्था/समूह गठन र उनीहरूको सशक्तीकरण, जनचेतना साथै पहँचयुक्त भौतिक संरचना र वातावरण तय गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघको प्रदेश समिति र नगरपालिकास्थित अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको सहयोग तथा सहजीकरणमा गर्ने, नगरपालिकाले कार्यक्रम अवधिभर सार्वजनिक भवनहरू तथा स्थलहरूलाई सबैको पहुँचयुक्त बनाउने र आफ्नो पालिकालाई पहुँचयुक्त स्थानीय तह घोषणाको लागि पहलकदमी लिने सम्झौता गरिएको छ ।
प्रथम पक्षले सम्झौता बमोजिम कार्यक्रमको अवधि सकिएपछि प्रदेश सरकार, संघिय सरकार तथा अन्य साझेदारहरुको सहयोगमा कार्यक्रमलाई निरन्तरता दिने सम्झौता गरिएको छ ।
नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी, २००६ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम (सञ्चालन) निर्देशिका, २०७६ बमोजिम प्रदेशको सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेसनबीच २०७६ असोज ८ गते भएको सम्झौता अनुसार नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्र्थापना कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो ।