Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अपांगता रोकथाम तथा पुनःर्स्थापना कार्यक्रम गर्दै हलेसी तुवाचुङ

    अपांगता रोकथाम तथा पुनःर्स्थापना कार्यक्रम गर्दै हलेसी तुवाचुङ


    • मंगलवार, पौष १७ २०८०

    • नेपाल वाइड


    अपांगता रोकथाम तथा पुनःर्स्थापना कार्यक्रम गर्दै हलेसी तुवाचुङ
    सम्झौता पत्र आदानप्रदान गर्दै मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, फाउण्डेसनका कार्यकारी निर्देशक दिपकराज सापकोटा लगायत । तस्बीरः राजकुमार भट्टराई

    खोटाङ, १७ पुस । अपांगता भएका व्यक्तीको हितमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अपांगता रोकथाम तथा पुनःर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

    जन्मजात तथा जन्मपश्चात् हुने अपांगता न्यूनीकरण एवं अपांगता भएका मानिस सहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुसार नगरपालिकाले करुणा फाउण्डेसनसँगको सहकार्यमा कार्यक्रम गर्ने तयारी गरेको हो ।

    तीन वर्षे कार्यक्रम सञ्चालनका लागि नगरपालिका र फाउण्डेसनबीचमा पुस १६ गते सम्झौता भएको छ । आगामी माघ १ गतेबाट सुरु हुने कार्यक्रम २०८३ पुस मसान्तसम्म लागू हुने सम्झौतामा उल्लेख छ ।

    कार्यक्रममार्फत जीविकोपार्जन, सामाजिकीकरणलगायत सुधार गरेर अपाङ्गता भएका व्यक्तीलाई सशक्त बनाउने लक्ष्य राखिएको छ । सम्झौता अवधिमा अपांगता भएका ब्यक्तिको लागि स्वास्थ्य उपचार, सहायक सामाग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामजिकीकरण, सशक्तीकरण लगायतका क्रियाकलाप सञ्चालन गरिने मेयर बिमला राईले बताईन् ।

    कार्यक्रमको सुरुमा अपांगता भएका ब्यक्तिलाई परामर्श तथा सेवा प्रवाहमा सहजिकरण गर्नका लागि अपांगता सहायता सहजकर्ता नियुक्ति गरिनेछ । छनौट भएका सहजकर्तालाई तालिम दिएर नगरभित्रका अपांगता भएका व्यक्तीको तथ्यांक संलकनदेखि उनीहरुको अवस्था बुझ्ने काम गरिनेछ ।

    त्यसपछि अपांगता भएका ब्यक्तिको अवस्था हेरेर उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने करुणा फाउण्डेसनका कार्यकारी निर्देशक दिपकराज सापकोटाले बताए ।

    ‘अपांगता भएका बच्चा जन्मन नदिनकालागि बच्चा जन्माउन इच्छुक दम्पतीलाई फोलिक एसिड खान लगाइनेछ । बच्चा जन्मेपछि २९ दिनभित्र स्वास्थ्य परिक्षणको व्यवस्था गरिनेछ,’ सापकोटाले भने, ‘१० वर्ष मुनिका सबै बालबालिकाको हरेक वर्ष स्वास्थ्य परिक्षण गरेर उनीहरुको अवस्था अनुसार स्वास्थ्य र पोषणमा आवश्यक काम गरिने छ ।’

    राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नगरपालिकामा अपांगता भएका ब्यक्तिको संख्या ६९४ जना छ । कार्यक्रमबाट नगरपालिकाका ३२ प्रतिशत नागरिक लाभाम्वित हुने दावी गरिएको छ । सम्झौताकै दिन कार्यक्रम सम्वन्धी अभिमुखीकरण गरिएको छ ।

    कार्यक्रममा मेयर राईले अपांगता भएका ब्यक्तिको पहिचान गरी गाउँघरमै पुगेर परिचय–पत्र वितरण गर्ने, राज्यले दिएको सेवा सुविधा उपलब्ध गराउने, निःशूल्क स्वास्थ्य बिमा गर्ने र बिमा बापतको उपचार नगर अस्पतालबाटै पाउने व्यवस्था मिलाइसकिएको जानकारी दिएकी छन् ।

    आर्थिक वर्ष २०७६/०७७ बाट कोशी प्रदेशमा अपांगता रोकथाम तथा पुनःस्र्थापना कार्यक्रम सुरु गरिएको हो । प्रदेश सामाजिक विकास मन्त्रालयले निर्देशिका जारी गरेपछि सुरु भएको कार्यक्रम हालसम्म प्रदेशका ९० वटा स्थानीय तहमा सञ्चालन भइसकेको छ । चालू आर्थिक वर्षदेखि खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका ३४ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार