Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गुणस्तरहिन बालुवा–गिटी प्रयोग गरेर बनाइएको अस्पतालको संरचना भत्काउन गाउँपालिकाको निर्देशन

    गुणस्तरहिन बालुवा–गिटी प्रयोग गरेर बनाइएको अस्पतालको संरचना भत्काउन गाउँपालिकाको निर्देशन


    • मंगलवार, पौष १७ २०८०

    • नेपाल वाइड


    गुणस्तरहिन बालुवा–गिटी प्रयोग गरेर बनाइएको अस्पतालको संरचना भत्काउन गाउँपालिकाको निर्देशन
    जन्तेढुंगामा निर्माणाधिन १५ शैयाको अस्पतालको जग । तस्बीर सौजन्यः सुमन राई

    खोटाङ, १७ पुस । खोटाङको जन्तेढुंगा गाउँपालिकाले गुणस्तरहिन बालुवा–गिटी प्रयोग गरेर बनाइएको अस्पतालको जग भत्काउने निर्देशन दिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा निर्माणाधिन १५ शैयाको जगको पिसिसि ढलानका क्रममा बलौटे माटो र माटो मिसिएको गिटी प्रयोग गरेको पूष्टी भएपछि भत्काएर पुःननिर्माण गर्न निर्देशन दिएको हो ।

    ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले अस्पतालको बेस लेभेलको पिसिसि ढलानका क्रममा बारीको खानीबाट उठाइएको बालुवा र माटो मिश्रित गिटी प्रयोग गरेको खुलेपछि मंगलबार गाउँपालिका अध्यक्ष अरुणादेबी राईको अध्यक्षतामा बसेको बैठकले त्यी संरचना भत्काएर पुःन ल्यावमा पास भएको सामग्री प्रयोग गरेर निर्माण कार्य अघि बढाउने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए ।

    ड्रागन–रियरकातर्फबाट इन्जिनियर जितेन्द्र गामी उपस्थित बैठकले गुणस्तरहिन बालुवा निर्माणस्थलबाट हटाउन, जम्मा गरिएको गिटी चालेर र धोएर मात्र प्रयोग गर्ने निर्देशन दिएको छ ।

    अस्पतालको वेस लेभलको सोलिङ र म्याट–टु पिसिसि (वेस) निर्माण गर्ने सिलसिलामा प्रयोग भएको बालुवा र गिटीको नमूना ल्याव टेष्टमा फेल भएको रिपोर्ट आएपछि गाउँपालिकाले उक्त संरचना हटाएर पुःननिर्माण गर्ने निर्णय लिएको हो ।

    गाउँपालिकाले अस्पताल निर्माणका क्रममा प्रयोग भएको बालुवा र गिटीको गुणस्तर परिक्षणका लागि ठेकेदार कम्पनी ड्रागन–रियरलाई गत मंसिर २६ गते पत्राचार गरेको थियो ।

    ल्याव रिपोर्टमा बालुवा जोन १, २ र ३ मा नपरेका कारण निर्माणको काममा प्रयोग गर्नु अयोग्य ठहरिएको भन्दै गाउँपालिकाले सो गिटी बालुवा प्रयोग गरेर बनेका संरचना भत्काएर पुःननिर्माण गर्ने निर्णय गरेको हो ।

    gh.jpg

    अस्पतालको गुणस्तरहिन संरचना पुःननिर्माण गर्ने बारेमा गाउँपालिकाले गरेको निर्णय ।

    गाउँपालिकाको निर्णय लगत्तै ड्रागन–रियरले गुणस्तरहिन संरचना भत्काउन सुरु गरेको गाउँपालिकाका इन्जिनियर अरुणकुमार शाहले बताए । गाउँपालिकाकातर्फबाट ल्याव टेष्ट नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेका थिए ।

    ठेकेदारले चिसापानीको खुटा भन्ने ठाउँबाट बालुवाजस्तै देखिने सेतो माटो लगेर प्रयोग गरेको र माटो मिसिएको गिटी प्रयोग गरिरहेको स्थानीय सुमन राईले दावी गरेका छन् ।

    हरेक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार जन्तेढुंगामा १५ शैयाको अस्पताल भवन निर्माण सुरु गरिएको हो । ठेकेदार कम्पनी ड्रागन–रियरले २०७९ असार २८ गतेभित्र निर्माण गरिसक्ने गरी २०७८ असार २५ गते अस्पताल भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो ।

    तर सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको हो । ड्रागन–रियरले कुल २० करोड ७१ हजार ५९० रुपैयाँमा निर्माण सक्नेगरी भवन निर्माणको ठेक्का लिएको थियो । सुरुको सम्झौता म्याद नाघेको १८ महिना पुग्दा ठेकेदारले बल्ल अस्पतालको जग उठाउन सुरु गरेको हो ।

    भवनको एक पटक थप भएको म्याद गत असारमै सकिएपछि पुःन अर्को म्याद थपको प्रकृया अघि बढाइएको छ । अस्पताल भवन २०७७ मंसिर १५ गते तत्कालिन प्रदेश सांसद रामकुमार राई पासाङ (हाल प्रतिनिधिसभा सदस्य)ले शिलान्यास गरेका थिए ।

    प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीसँग नजिक रहनेगरी नजिकै अस्पताल भवनका लागि निःशुल्क र सशुल्क सहित ५ रोपनी जग्गा जुटाइएको छ । अस्पतालको घडेरीका लागि बनाइएको पर्खालको गुणस्तरको विषयमा समेत स्थानीयले आवाज उठाएका थिए ।

    सम्बन्धित समाचार