आइतवार, पौष १५ २०८०
नेपाल वाइड
खोटाङ, १५ पुस । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँ प्रहरी थप गरेको छ । हाल एक हवल्दार र चार जना जवान कार्यरत रहेको गाउँपालिकामा पुःन एक जना गाउँ प्रहरी सहायक निरिक्षक र पाँच जवान नियुक्त गरेको हो ।
गाउँ प्रहरी सहायक निरिक्षकमा रोजन राई र जवानहरुमा आशिष तामाङ, सन्दिप राई, रोशन खड्का, तुलसी बस्नेत र भिमचन्द्र राई छनौट भएको गाउँपालिकाले जनाएको छ ।
पुस १३ गते सञ्चालन गरिएको स्वास्थ्य परिक्षण, शारिरिक तन्दुरुस्ती परिक्षण, लिखित एवं अन्तरवार्ता चरणको खुला प्रतिष्पर्धात्मक परिक्षाबाट छनौट भएका गाउँ प्रहरीलाई पुस १५ गते नियुक्ति दिइएको छ ।
यससँगै गाउँपालिकामा गाउँ प्रहरी सहायक निरिक्षक, एक हवल्दार र नौ जवान पुगेको छ । गाउँपालिकाको चारैतिर धेरै वटा नाका भएकाले प्रत्येक नाकामा गाउँ प्रहरी खटाएर राजस्व संकलनका लागि जनशक्ती थप गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले बताए ।
गाउँपालिकाबाट निर्यात हुने कृषि तथा वनजन्य सामग्री र उत्खनन् भएर जाने कच्चा पदार्थको राजस्वलाई व्यवस्थित तरिकाले संकलनका लागि एकैसाथ ६ जना गाउँ प्रहरी भर्ना गरिएको हो । ‘गाउँपालिकाको धेरै वटा नाका छ । त्यही नाकाबाट गाउँपालिकाभित्रका विभिन्न कच्चा पदार्थ निकासी भइरहेको छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत चाम्लिङले भने, ‘व्यवस्थित तरिकाले राजस्व उठाउने हो भने आन्तरिक राजस्व संकलन दर पर्याप्त उठाउन सकिन्छ भन्ने हाम्रो ठहर छ । त्यही काममा खटाउनेगरी जनशक्ती थप गरिएको हो ।