शनिवार, पौष १४ २०८०
नेपाल वाइड
खोटाङ, १३ पुस । खोटाङमा बिना दर्ता सञ्चालन गरिएको एक मेडिकललाई शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा दर्ता नगरी सञ्चालन भइरहेको मेडिकल शिलबन्दी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, केपिलासगढी गाउँपालिका, इलाका प्रहरी कार्यालय बाक्सिला, गाउँपालिकाको स्वास्थ्य शाखा, उद्योग बाणिज्य संघ शाखा बाक्सिला लगायतको टोलीले पुस १४ गते गरेको संयुक्त अनुगमनका क्रममा बिना दर्ता खोलिएका मेडिकल शिल गरेको हो । सो मेडिकल बिश्वबिना राईले सञ्चालन गर्दैआएकी छन् ।

यसअघिको अनुगमनका क्रममा दर्ता नगरेको पाइएपछि दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न दिइएको निर्देश पालना नगरेको पाइएपछि शिलबन्दी गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका उद्योग अधिकृत भेषराज खत्रीले जानकारी दिए ।
नेपाल सरकारले निर्धारण गरेको फार्मेसी सञ्चालन सम्वन्धी मापदण्ड पुरा नगरेसम्मका लागि मेडिकल शिल गरिएको हो । आवश्यक प्रकृया पुरा गरेर कागजात देखाएपछि मात्र शिलबन्दी खोलिने अनुगमन टोलीले जनाएको छ । बाक्सिला बजारमा खोलिएका अर्को मेडिकल भने शनिबारका दिन बन्द रहेको पाइएको उद्योग अधिकृत खत्रीले जानकारी दिए ।